गाउँपालिका अध्यक्ष शेर्पाको निधन

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको मंगलबार बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिएका छन् । विगत १० महिनादेखि सानो आन्द्रामा क्यान्सर भएपछि थलिएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टरमार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय शेर्पाको पछिल्लो समय काठमाडौँको ह्याम्स अस्पतालमा केमो थेरापी गराइएको थियो ।

चिकित्सकका अनुसार शल्याक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याएको प्रवक्ता शेर्पाले बताए । दश महिना पहिले भारतको मेदान्त अस्पतालमा भर्ना भएका शेर्पाले त्यहाँ दुई महिनासम्म रेडियो थेरापी गराएका थिए । त्यसपछि स्वीट्जरल्याण्डमा पनि थप उपचार गराएर काठमाडौँ फर्कनुभएका शेर्पाले पछिल्लो समय ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए ।

अध्यक्ष शेर्पाले गाउँपालिका अध्यक्षको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने अवस्था नभएपछि उपाध्यक्ष टसील्हमू शेर्पालाई जेठ १२ गते देखि कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका थिए । सोही बेला उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीसमेतलाई उच्चमनोबलका साथ काम गर्न आग्रह गरेका थिए । पूर्व एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य पनि हुन् । उनको तीन छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *