वडाध्यक्षकी आमालाई तीन ठाउँबाट भत्ता, वडाध्यक्ष विरुद्ध अख्तियारमा उजुरी

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले वडा नम्बर १, ३ र ७ बाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ ।

उनले वडा नम्बर ३ बाट एकल महिला भत्ता तथा ३ र ७ वडाबाट ज्येष्ठ नागरिक भत्ता लिएको पाइएको छ । मनहरीमा रहेको मुक्तिनाथ विकास बैंकको एउटा बैंक खाताबाट २४ हजार रुपैयाँ र अर्को खातामा ८ हजार रुपैयाँ बुझेकी उनको तीनवटै वडाबाट सामाजिक सुरक्षा भत्ता बुझेको सूचीमा उल्लेखित नाम र नागरिकता नम्बर मिलेको छ ।

आर्थिक बर्ष २०७६/७७ को अन्तिम र चालु बर्ष २०७७/७८ को प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता तीनवटै वडाबाट एउटै व्यक्तिको खातामा भुक्तानी भएपछि बैंकले गाउँपालिकालाई खबर गरेको थियो । वडाध्यक्षको आमाले तेहोरो सामाजिक सुरक्षा भत्ता बुझेको पाइएपछि गाउँपालिका कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

पदको दुरुपयोग गरी आमालाई तेहोरो भत्ता दिलाएको भनी कारबाही गर्न माग गर्दै ‘मनहरीका सचेत युवाहरु’ को नामबाट अख्तियारमा उजुरी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *