राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ : पर्यटन मन्त्री भट्टराई

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन ।​

एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आइतबार सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षको सुरुवातबाटै मन्त्रालयका काममा आफै सक्रिय ‘प्रोएक्टिभ’ भएर लाग्न आग्रह गरेका छन । 

उहाँले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने पनि चेतावनी दिनुभयो ।उनले भने, ‘अहिल्यै मैले पूर्वसूचना गरेको छु । साउन महिनाबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौँ । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।’ 

आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उनले भने, ‘तपाईँहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । त्याे सम्झौता अनुसार काम भए/नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कारवाही जे गर्नुपर्ने हो, त्यो गरिन्छ ।’   

हरेक एक वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लेख गर्दै मन्त्री भट्टराईले मन्त्रालयले राम्रो अङ्कका साथ कक्षा उत्तीर्ण हुनैपर्ने बताएका छन ।   

चालु वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिनभित्र गर्न र प्रत्येक हप्ता हरेक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने व्यवस्था मिलाइने उहाँले उल्लेख गर्नुभयो । उहाँले कोभिड–१९ पछि सबै विमानस्थलहरु सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनकाे लागि जारी भएको प्रोटोकलको कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा/निकाय प्रमुखलाई निर्देशन दिएका छन । 

पर्यटन मन्त्रात्रलय मातहत राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका पाँच वटा आयोजना छन् । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, मन्त्रालयका महाशाखा प्रमुख तथा मातहत निकायका प्रमुखहरुको सहभागिता थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *