दुर्गाप्रसाद गौतम।
नेपालकै पाको र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन भखैरै सम्पन्न भएको छ । नेतृत्व परिवर्तनको ठूलै बहस, चर्काचर्की, घम्साघम्सीकाबीच केन्द्रीय नेतृत्वमा मूल नेतृत्वलाई यथावत कायम राख्दै नयाँ अनुहारहरुलाई सहायक नेतृत्वमा एथेष्ट स्थान दिएबाट आगामी दिनमा काङ्ग्रेस आमूल परिवर्तनसहित अगाडि कसरी बढ्छ भन्ने कुरा काङ्ग्रेस वृत्तमा, शुभचिन्तक र आमजनतामा पनि चर्चा र बहसको विषय बन्न थालेको छ । नेतृत्व परिवर्तनको लागि झण्डै चौधौं महाधिवेशन शुरु हुनु भन्दा दुई बर्ष अगाडिदेखि आवाज उठान गर्दै आएका नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला र सस्थापन पक्षकै बिमेलेन्द्र निधिसम्मको भूमिका मूल नेतृत्व परिवर्तन हुने पक्कापक्कीको संघारमा आएर यथावत तय गर्नेतिरनै किन मोडियो ? भन्ने कुराको विष्लेषण नेपाली राजनीतिक क्षेत्र र समाजमा विभिन्न कोणबाट भैरहेको छ । तथापि उक्त निर्णय नेपाली काङ्ग्रेसको आन्तरिक राजनीतिमा यी माथिका पुस्ताहरुको भूमिका आगामी दिनमा के कस्तो रहन्छ भन्ने प्रभावका आधारको अंकगणितका कारणनै मूल नेतृत्व यथावत राख्ने ठहरमा उक्त पुस्ताका माथी नाम उल्लेखित भएका नेताहरु पुगेका हुन् भन्ने कोणको विश्लेषण शसक्तरुपमा नेपाली समाजमा मुखरित निर्वाचन परिणाम पश्चात हुने गरेको छ ।
शेरबहादुर देउवाको नेतृत्वमानै नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयन भएबाट आमरूपमा नेपाली काङ्ग्रेसको आगामी दिनहरुको भूमिका र कार्यदिशा रुपान्तरण सहितको हुन्छ कि ? तदर्थतावादमानै सीमित रहन्छ ? भन्ने चर्चा पनि नेपाली राजनीतिक वृत्तमा हुने गरेको छ । तथापि नेपाली काङ्ग्रेसको महामन्त्री जस्तो संगठन निर्माणको महत्वपूर्ण पदीय जिम्मेवारीमा दुई सशक्त युवाहरू विश्वप्रकाश शर्मा र गगन थापाको चयनले परिपक्कता बीच कौशलता र क्षमताको पहिचान नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले गरेका छन् र उनीहरु प्रसस्त युवाहरुको उपस्थितिसहित युवाहरू लेनेपाली काङ्ग्रेसलाई भरोसायोग्य पार्टी बनाउँछन् भन्ने कुरामा विश्वस्त छन् भन्ने कुरालाई एकातर्फ व्यक्त जनमतले इंङ्गित गरेको छ भने अर्कोतर्फ विश्वप्रकाश र गगन पुस्ताले साँच्चिकै नेपाली काङ्ग्रेस पार्टीलाई आजको युग र पुस्ताले माग गरेको पार्टीको रुपमा रुपान्तरण गर्ने भनी यिनिहरुले व्यक्त गर्दै आइरहेको बिचारलाई परीक्षणको कसिमा परीक्षणका लागि पस्किएको देखिन्छ ।
वर्तमान समयमा नेपाली समाजमा राजनीतिलाई नेतृत्व गरिरहेको तप्का हरेक पार्टीमा इमानदार पारदर्शी र देश र जनताप्रति इमान्दार ढंगले समर्पित छैन भन्ने आवाजहरुकै बीच नेपाली काङ्ग्रेस जस्तो परिपक्क प्रजातान्त्रिक पार्टीमा नेतृत्व पङ्क्तिमा वर्तमानको पहिलो पुस्तादेखि चौथो पुस्तासम्मको फ्यूजनबाट नेतृत्व चयन हुनुले नेपाली काङ्ग्रेसको अघिल्लो पङ्क्तिका कार्यकर्ताहरु नेपाली काङ्ग्रेसलाई पहिलो पुस्ताकै अगुवाइमा रुपान्तरण भएको हेर्न चाहन्छ भन्ने सन्देश प्रवाह गर्न चाहन्छन् भन्ने जस्तो देखिएता पनि पार्टी सभापतिमा देउवा निर्वाचित हुँदै गर्दा सभापतिका अर्का उमेदवार शेखर कोइरालाले उल्लेख्य मत प्राप्त गरिरहँदा पनि देउवा पक्षका उम्मेदवार केन्द्रीय कार्य समितिमा लगभग ८० प्रतिशत भन्दाबढी विजयी हुनुले अब काङ्ग्रेसमा रुपान्तरण र परिवर्तनको साँचो केवल प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले प्रस्तुत गर्नुहुने नेतृत्व क्षमतामा निर्भर रहने पक्कापक्की देखिएको छ ।
तथापि उहाँले पार्टीको आन्तरिक जीवनमा शेखर कोइरालाले प्राप्त गर्नुभएको मत र कोइराला पक्षबाट हिजो आन्तरिक प्रतिस्पर्धामा पार्टी नेतृत्वको विभिन्न पदमा विजयी हुन नसक्नु भएको पार्टीको बाह्य शक्ति संचयमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुहुने नेता तथा कार्यकताहरुलाई पार्टी जीवनमा निर्वाह गर्नसक्ने भूमिकामा गराउने कृयाशीलता र जिम्मेवारीको बाँडफाँटले अरु स्पष्टता दिलाउने छ । हुनत हाल केन्द्रीय समितिमा प्राप्त नतिजालाई मात्र आधार मानेर आफू खुसीअगाडि बढ्दा पनि पार्टी सभापति शेरबहादुर देउवा १३ औं माहाधिवेशनको कार्य समितिको भन्दा सहज ढंगले काम गर्ने सुविधामा हाल हुनु भएकोमा दुई मत छैन ।तर यसरी अगाडी बढ्दा उहाँले वर्तमान नेपाली समाजले काङ्ग्रेस पार्टीसँग गरेका अपेक्षाहरुलाई सम्बोधन गर्न नसकेमा भने जनताकोस्तरबाट नेपाली काङ्ग्रेस अनुमोदित हुनुपर्ने स्थान र अवस्थामा भने नकारात्मक परिणाम भोग्नुपर्नेतर्फ उहाँ र सिङ्गो नेपाली काङ्ग्रेसको कार्यसमिति चनाखो रहनुपर्ने देखिन्छ ।
चौधौं महाधिवेशनमा नेपाली काङ्ग्रेसका अगुवाकार्यकर्ताहरुले इमान्दार र सादगी धनराज गुरुङलाई उपाध्यक्ष र युवहरुमाझ लोकप्रिय दुई युवा नेताहरु विश्वप्रकाश र गगन थापालाई महामन्त्रीमा निर्वाचित गरेर स्पष्टसँग नयाँ काङ्ग्रेस निर्माणको बाटोमा यिनीहरुको प्रत्यक्ष भूमिका र हस्तक्षेपलाई पार्टी नेतृत्वमानै स्थापित गरेर नेपाली काङ्ग्रेसलाई रुपान्तरित जनचाहना अनुसारको पार्टी निर्माणका लागि भूमिका निर्वाह गर भन्ने सन्देश प्रवाह गरेको छ । हिजो पार्टीको मूल नेतृत्वको पदीय पंक्तिमा नहुँदैदेखि यी युवाहरुले नेपाली काङ्ग्रेसको आन्तरिक जीवन परिवर्तनका लागि उठान गरेका मुद्दाहरुलाई आउँदा दिनमा नेपाली काङ्ग्रेसको रुपान्तरण र जागरणका लागि कति व्यबहारिक प्रयोगमा ल्याउन सक्दछन् त्यसले नै यी युवाहरुको आगामी दिनको राजनीतिक भविष्य निर्धारण गर्नुका साथै काङ्ग्रेसको आगामी दिनमा कस्तो विश्वास र भरोसा निर्मित हुन्छ भन्ने कुराको निर्धारण हुने देखिन्छ ।
नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनको स्पष्ट सन्देश अब गुटरहित काङ्ग्रेस निर्माणका लागि सिंगै पार्टी नेतृत्व कृयाशील रहोस् भन्ने रहेको छ । हिजो जस्तो केन्द्रीय कार्य समितिमानै ६० प्रतिशत र ४० प्रतिशतको बनोट हुनेगरि कार्यसमितिमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरु निर्वाचित हुँदा काङ्ग्रेसी मतदाताहरुले म्यान्डेट नदिनु तर संस्थापन इतर पक्षका सभापतिको उमेदवारलाई करिव ४० प्रतिशत मत प्रदान गर्नुका साथै माहामन्त्रीमा संस्थापन इतर पक्षका दुबै उम्मेदवारहरुलाई भारी मतले विजयी गराउनुले उक्त कुराको स्पष्ट गर्दछ । यही संकेतलाई मध्यनजर गरि काङ्ग्रेसको मूल नेतृत्व जनजिबिका र नेपाल राष्ट्रको पहिचान,स्वाभिमान,अखण्डता र स्वनिर्भरता निर्माणका मुद्दामा केन्द्रित भै अगाडि बढ्ने संदेश प्रवाह गर्न जरुरी छ ।
नेपाली समसामयिक राजनीतिमा केबल जार्गनहरुमात्र बिक्री गरि जनलोकप्रियता हासिल गर्ने प्रचलनबाट मुक्तिका लागि पनि चौधौं माहाधिवेशनबाट निर्वाचित काङ्ग्रेस केन्द्रीय समितिले आफूलाई स्पष्टसँग प्रस्तुत गर्नुपर्ने चुनौती छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा स्थान विशेषले बन्दै आएका भूमिकालाई जनता बीच राख्दै आउँदा पनि बामपन्थी पार्टीहरुनै किन जनतालाई भरोसामा लिन सफल छन् ? र वास्तविक यथार्थलाई झट्ट जनतामाझ राखेर जाँदा पनि काङ्ग्रेसलाई पटकपटक जनता बीच आलोचित गर्दा व्यबहारमा दलाल पूँजीवादी हर्कत आफैं गरेर याहाँका आफूलाई बामपन्थी भन्ने पार्टीहरु काङ्ग्रेसलाई पुरातनवादी दक्षिणपन्थी पार्टीका रुपमा जनता बीच चित्रित गर्दै भ्रम सिर्जना गर्न सफल छन् ? भन्ने जस्ता प्रश्नहरुको उत्तर खोज्ने चुनौती नेपाली काङ्ग्रेसको हालै निर्वाचित नेतृत्वमा रहेको छ ।
गगन थापाले आफूलाई माहामन्त्रीमा निर्वाचित गरियोस् भनी प्रस्तुत गरेको कार्यपत्रमा प्रस्तुत विचार “सम्मुनत नेपाल र सम्मानित नेपाली “भन्ने दृष्टिकोणलाई काङ्ग्रेसले आफ्नो व्यवहार गत भोगाइमा कति अबलम्वन गर्दछ र यसको अवधारणाको प्रष्ट्याइका लागि स्वयं गगन थापा कति क्रियाशील हुन्छन् । त्यसले पनिआगामी दिनमा हिजोको काङ्ग्रेस, आजको काङ्ग्रेस र भोलिको काङ्ग्रेसको चारित्रिक स्वरुप र त्यसले समाजमा निर्वाह गरेको भूमिकाको महत्व माथी प्रकाश पार्ने थप आधारहरु सृजना गर्दछ ।
नेपाली काङ्ग्रेसको नयाँ नेतृत्वको सबैभन्दा ठूलो चुनौती काङ्ग्रेसको समाजवादी चरित्रको व्यवहारगत पुष्ट्याइँनै हो भन्ने कुरामा हेक्का पुर्याउनु जरुरी छ । नवउदारवादी चिन्तनलाई आत्मसात गरि नेपालका रुग्ण सार्वजनिक उद्योगधन्दाहरुलाई निजीकरण गर्दा यसले उत्पन्न गरेको परिस्थिति र यसैपरिस्थिति बीच पैदा भएका रुपान्तरित अर्थ व्यबस्थाको स्वरुप र यसबाट आन्तरिक तथा बाह्य आर्थिक संरचनागत स्वरुपमा पर्न गएका प्रभाव र परिणामहरुको स्पष्ट जनस्तरमा बोधगम्यतासहितको व्याख्या गर्न नसक्दा नेपाली काङ्ग्रेसलाई निर्वाचनका बेला विपक्षी पार्टीहरुको मुख्य हमला नै काङ्ग्रेसले मुलुकको उद्योगधन्दा बेचेर याहाँको जनशक्तिलाई खाडी मुलुकमा कामको लागी निर्भर रहनुपर्ने परिस्थिति सिर्जना गर्यो भन्ने आरोप लाग्दै आएको छ । कतिपय समय र सन्दर्भ यो विपक्षी पार्टीहरुका लागी जनमत सिर्जनाको आधार बन्दै आइरहेको छ ।
यस्तो बिद्यमान अवस्थाको चिराफाराका लागी पनि स्पष्टसँग् नेपाली काङ्ग्रेसले समातेको समाजवादी बाटो के कस्तो हो । यसमा साधन तथा स्रोतहरुमाथिको पहुँच र नियन्त्रण कस्तो र कसको रहने ? समतामूलक समाज निर्माणका लागि नेपाली काङ्ग्रेसको समाजवादी आर्थिक आधारहरु के हुने ? व्यक्तिगत सम्पत्ति माथिको अधिकार सहित नागरिक स्वतन्त्रताको ग्यारेन्टीले सिर्जना गर्ने असमानताका पर्खालहरुलाई तोड्दै सबै र सधैंका लागि समानतामा आधारित समतामूलक समाज निर्माणका घाँसे चौरहरुको निर्माण नवउदारवादी पूँजीवादी चरित्र र व्यबहार सँगसंगै गर्नुपर्दा आएको व्यबहारगत प्रयोगकाबीच काङ्ग्रेसले आफूलाई कसरी प्रस्तुत गर्दछ त्यसलेनै काङ्ग्रेस प्रतिको आकर्षणलाई निर्धारण गर्ने निश्चित छ ।
लेखक नेपाली काङ्ग्रेस नागार्जुन नगर कार्यसमितिका सभापति हुन् ।