काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत शुक्रबार पत्रकार सम्मेलन गरेर राजधानी उपत्यकाको बिजुली जाने समस्या कम भएको दाबी गरे पनि समस्या अहिलेसम्म कायमै छ। घिसिङले गत शुक्रबार पत्रकार सम्मेलन गरेर उपत्यकामा बिजुली जाने समस्या धेरै हदसम्म कम भइसकेको दाबी गरेका थिए।
उनले प्रतिबद्धता जनाएको तीन दिन बितिसक्यो। तर उपत्यकामा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या कम भएको छैन। एक सातादेखि बानेश्वर वितरण केन्द्र अन्तर्गतका कोटेश्वर महादेवस्थान, मध्यबानेश्वर, पेप्सीकोला, बालकुमारी तथा कालीमाटी क्षेत्रमा बेलुकाको पिक–आवरमा दिनहुँजसो बिजुली जाने समस्या कायम छ। तर प्राधिकरणले एक सातादेखि निरन्तर बिजुली जाने समस्या अन्त्य गर्न सकेको छैन।
प्राधिकरण नियमित मर्मतसम्भार र ट्रान्सफर्मर फेर्ने तथा अपग्रेड गर्ने काम भइरहेको दाबी गर्न भने छाड्दैन। ती क्षेत्रमा बस्ने जनता भने अँध्यारोमै बस्न बाध्य छन्। प्राधिकरणको वितरण तथा ग्राहक निर्देशनालयका प्रमुख मनोज सिलवालले काठमाडौं उपत्यकामा ६०–७० वटा ट्रान्सफर्मरमध्ये बानेश्वर वितरण केन्द्र अन्तर्गत ३० वटाभन्दा धेरै ठाउँका ट्रान्सफर्मरमा समस्या आएको बताए। ‘१४–१५ गते उपत्यकामा ओभरलोडले धेरै नै समस्या आएको थियो। ओभरलोडकै कारण ६०–७० वटा ट्रान्सफर्मरमा समस्या आएको हो,’ उनले भने, ‘अधिकांश ठाउँको समस्या समाधान भइसकेको छ। केही ठाउँमा समस्या आएको होला, त्यहाँ पनि मर्मतसम्भार जारी छ।’
प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराई अहिले पनि धेरै ठाउँमा ट्रान्सफर्मर फेर्ने काम भइरहेकाले बिजुली जाने समस्या देखिएको बताउँछन्।