जगदीशपुर तालमा आए पाहुना चरा

कपिलवस्तु। देश विदेशका चराको गन्तव्य कपिलवस्तुको जगदीशपुर ताल पाहुना चराको आगमनले मनमोहक बनेको छ । तालभरि चरा देखिन थालेपछि पर्यटक आकर्षण पनि बढेको छ ।

तालमा अहिले मरुल, सिलसिले हाँस, बिजुला गैरी, सुनजुरे हाँस, खडखडे र सिन्दुरे हाँस प्रशस्त देखिएका छन् । त्यस्तै सुइरोपुच्छ, चखेवाचखेवी, बेल्चा ठुँडे, हरिहाँस, नादुन, बगाले सिमकुखुरा, जलेवा, सुइरोठुटे, मालक र हरियो टाउकेहाँस पनि उत्तिकै छन् ।

विश्व सिमसार क्षेत्रमा रहेको सूचीकृत ताल अहिले चरामय बनेको हो । उत्तरी धु्रवमा हिमपात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । चराविद् सोम जीसीका अनुसार बढी चिसो हुने हुँदा उता चराले खाने चारो पाउँदैनन् । जीवनयापन पनि उस्तै गाह्रो हुन्छ । त्यसैले हिउँद यामको बढ्दो जाडो छल्न नेपालमा चरा आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, तालतलैया र नदी आसपास हजारौँ चरा बसाइँ सरी आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुर्काई पनि जाने गर्छन् ।

रुस, चीन, मङ्गोेलिया, कोरिया साथै युरोपबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य एसियाका तुर्केमिनिस्तान, अजरबैजान, किर्गिस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् । नेपालमा बर्सेनि १५० भन्दा बढी प्रजातिका चरा आउँछन् । जलवायु परिवर्तन र आहारविहारले चरालाई समस्या परिरहे पनि यहाँ भने चरा बढ्नु राम्रो भएको चराविद् जिसीले बताए । चरालाई जोगाइराख्न सकियो भने जगशदीपुर ताल मुलुकमै चरा अवलोकनको राम्रो गन्तव्य बन्नसक्ने उनले बताए।

अर्का चराविद् दिनेश गिरीका अनुसार एक, दुई घन्टामै ४० भन्दा बढी प्रजातिका चरा देख्न पाइने हुनाले यहाँको महत्व बढ्नुका साथै सङ्ख्या बढ्नुले तराईमा जगदीशपुर ताल चराका लागि उपयुक्त बासस्थल हो भन्ने पुष्टि हुने बताए ।

१५७ हेक्टरमा फैलिएको ताल कृत्रिम रूपमा बनाइएको मुलुकको सबैभन्दा ठूलो ताल हो । आईयूसीएन नेपालले गरेको एक अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख गरेको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *