काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत महिलातर्फ केन्द्रीय सदस्य (खुला)पदका उम्मेदवारहरूको मतगणना सुरु भएको छ ।
आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू भएको हो । आइतबार तोकिएको समयसम्म केहि मतगणना भईसकेकोसमेत कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
खुला महिलातर्फ नौ जनाका लागि आरजु राणा देउवा, डिला संग्रौला पन्त, पुष्पा भुसाल गौतम, लगायत चुनावी मैदानमा ३० जनाले उम्मेदवारी दिएका थिए । केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना भने सम्पन्न भइसकको छ ।
निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
पार्टीका सबै पदाधिकारीको भने शुक्रबार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएको थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।