थरथर काँप्दै बाँच्न बाध्य मधेसका विपन्न

सिरहा। परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भूइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ।

यो सिरहाको गोलबजार नगरपालिका–१० मुसहरी टोलकी श्यामदेवी सदायको बिछ्यौना हो। यही बिछ्यौनामा सिरेटो झेल्नु कम्ती कष्टकर हुँदैन उनलाई। चारजना छोराछोरी र वृद्ध सासुलाई छाप्रोभित्र राखेर श्याम दम्पती घर बाहिर खुला आकाशमुनि बस्छन्।

जाडो छल्न उनले परालसँगै घरका पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेका छन्। चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएका ओढ्ने ओढेर जसोतसो चिसो छल्छिन्।

मुसहरी टोलकी ७० वर्षीया मलभोगीया सदायले शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन्। चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा परालकै सिरक–डसना र परालै बालेर जीवनयापन गर्नु पर्ने सदाबहार बाध्यता छ।

गोलबजार–१० को यो मुसहर वस्ती घुर्मी खोलाको डिलमा अडिएको छ। यस वस्तीका पुरुषहरू ट्याक्टरमा मजदुरी गर्छन्। महिलाहरू कृषि र दैनिक ज्यालादारीमा काम गर्छिन्। ‘मजदुरी गरेर कमाएको पैसाले अन्नपात जोड्ने कि न्यानो लुगा? यस बस्तीका विपन्नहरूको सामूहिक स्वर छ।

वस्तीकी जँगली सदाय भन्छिन्,‘सरकार गरिबके जाड स बचावके लेल कोनो उपाय नै करै छै (सरकारले गरिबलाई चिसोबाट जोगाउन कुनै उपाय गर्दैन)। जाड स कठुवाई छि। अखन तक कोइ ने किछो देलक ९चिसोले कठ्यांग्रिँदै छौं तर हाम्रो वस्तीमा सरकारी,गैरसरकारी राहत आइनपुगेको छैन०।’

गत वर्ष स्थानीय तहमार्फत दाउरा वितरण अभियान थाले पनि त्यो विपन्न वस्तीसम्म पुगेन। न त संघसंस्थाकै व्यक्तिले बाँडेका कम्बल हाम्रो वस्तीमा पुग्यो,जंगलीले गुनासो पोखिन्। साँच्चिकै आवश्यकता परेकालाई भन्दा पनि मन परेका व्यक्तिलाई त्यस्ता कम्बल बाँड्ने गरिएको पीडितको आरोप छ।

लहान नगरपालिका–२२ (नवकाटोल मुसहरी) सडकछेउ स्थित ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन्। तिनैमध्ये एउटा छाप्रोमा दसैं सदायको चार परिवार अटाएको छ। दुई छोराछोरी सहित दसैं दम्पती छाप्रोमा जसोतसो जिन्दगी धान्दै छन्।

पोहोर यही छाप्रोमा जाडो सहन नसकेर दसैंका पिता ढेकरु सदायको मृत्यु भयो। दमका रोगी उनलाई न्यानो चाहिन्थ्यो। तर,राम्ररी घामपानी पनि छेक्न नसक्ने छाप्रो अनि चिसो भुइँमा निदाउनुपर्ने बाध्यताले उनी चिसोमा धेरैदिन प्राण थामेर बस्न सकेनन्। कहियोकाल त हमरो इ जार लजेतै जका लगैया९कहिलेकाहीँ त आफूलाई पनि मरिन्छ कि जस्तो महसुस हुन्छ० दसैंले भने,‘ठन्डी स टाँगहात ठैर क काज केनाई छोइर दैय ९चिसोले शरीरै कठ्यांग्रिन्छ, हातखुट्टाले काम गर्न छोड्छ०।’

यसपालिको पुस–माघ महिनाको शीतलहरबाट कसरी जोगिने भन्ने चिन्ताले उनलाई सताएको छ। दैनिक ज्याला मजदुरीबाट गुजरा गर्ने करिब ३० घर मुसहर बस्तीमा जाडो महिना पीडा बोकेर आउँछ।

प्रत्येक वर्ष शीतलहरका कारण मधेसका विपन्नले ज्यान गुमाउनुपर्ने बाध्यता छ। अति विपन्न बस्तीका स्थानीयलाई न्यायो कपडाको अभाव र ओत लाग्ने सग्लो घर नहुँदा शीतलहरको प्रभाव पर्ने गरेको छ। उनीहरू बाक्लो कपडा किन्न सक्दैनन्।

दलित समुदायका मानिस घुर तापेर जिउ तताउने गर्छन्। चिसोमा उनीहरू यही घुरको वरपर बस्छन्। आर्थिक विपन्नताका कारण सिरक डस्ना किन्न सक्दैनन्। त्यसैले पनि जाडोको मौसममा उनीहरूको अवस्था कष्टकर बन्ने गरेको हो। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *