काठमाडौँ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि काठमाडौँ उपत्यका नगरपालिका फोरमले उपत्यकामा कर्फ्यू लगाउनुपर्ने निष्कर्ष निकालेको छ । आज बुधबार भएको फोरमको भर्चुअल बैठकले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाले मात्रै कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुने देखिएकाले कर्फ्यूसम्म लगाउनुपर्ने निष्कर्ष निकालेको हो ।
यसका लागि काठमाडाैँ, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सुझावसमेत दिएको उपत्यका नगरपालिका फोरमका सचिव एवम् मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए ।
निषेधाज्ञाले मात्रै संक्रमण नियन्त्रण हुन नसकेकाेले त्यसलाई अझ कडा पारेर कर्फ्यू लगाउने निष्कर्षमा उनीहरु पुगेका हुन् । ‘बिहान ९ बजेसम्म किनमेल गर्न पाउने भनेको कारण मान्छेहरू मर्निङ वाक र इभिनिङ वाकसमेत गर्न थालेका छन्’, श्रेष्ठले भने, ‘संक्रमणको दर बढ्दै गएको छ । संक्रमितहरू सबैलाई आइसोलेसनमा राख्न सकिएको छैन । संक्रमणको दर घटाउनका लागि यो प्रयास भएको हो ।’
कर्फ्यू भनेपछि मान्छे हिँडडुल गर्न डराउने र कारबाही समेत गर्न मिल्ने भएकाले छोटो अवधिका लागि यस्तो गर्न जरूरी रहेको उनले बताए ।
