काठमाडौँ । नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना अनिश्चत भएकाे छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएका कारण अनिश्चित भएकाे हाे । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ ।
विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिकलगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । उनले सामूहिक परीक्षण नेपालमा गर्दैमा पनि सफल हुन्छ भन्ने छैन । थप विस्तृत अध्ययन, विश्लेषणपछि मात्र खोप परीक्षण हुनसक्छ भन्नेमा विज्ञको एकमत रह्यो भने । मानवमा हुने सामूहिक परीक्षणबाहेक क्लिनिकल तथा ल्याब परीक्षण गर्न नेपालले आफ्नो ढोका तत्काल खुला राखेको छ । त्यसका लागि परिषद्ले सहकार्य गरेर जाने मोडलमा कुनै पनि कम्पनी, देश वा व्यक्तिले गरेका प्रारम्भिक चरणका अनुसन्धानमा सहभागिता जनाउने थप पहल गर्नेछ । अक्सफोर्ड युनिभर्सिटी, चीन र रुसले आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा अन्तिम चरणको परीक्षण गर्न इच्छा देखाएका थिए । भारतले पनि आफ्नो प्रोटिन खोप नेपालमा परीक्षण गर्न प्रारम्भिक चरणको पहल गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस सम्बन्धमा अध्ययन वा विश्लेषण जे गर्नुपर्ने हो त्यसको जिम्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई दिएको छ । परिषद्ले खोप परीक्षणको विषयमा तथ्यगत तथा बौद्धिक बहस अगाडि बढाएको थियो । सो क्रममा स्वास्थ्य अनुसन्धान परिषद्सहित नेपाल सरकारका विभिन्न निकाय तथा बुद्धिजीवी एकै थलोमा जम्मा भएर खोप परीक्षण गर्न हुने वा नहुने भन्ने विषयमा चरणबद्ध छलफल गरिएको थियो । सहभागी विज्ञले खोप परीक्षणका विभिन्न पक्ष केलाउँदै त्यसरी खोपको परीक्षण नेपालमा तत्काल दिन नहुने निष्कर्ष निकालेका पत्रकार चाँदनी हमालले जनाएकी छन् ।
