काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मिहिनेत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताएका हुन् ।
कृषि विकासका लागि भाषण गर्ने, ठेक्कापट्टा गर्ने, विभिन्न प्रोजेक्टहरू ल्याएर बिगार्ने काम गरिएको उनले बताए । ‘लामो समयदेखि बिगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्छ,’ उनले भने, ‘३०/४० वर्षदेखि बिग्रँदै आएको कृषि तीन वर्षभित्रमा सुधार्न चुनौती छ ।’
देशमा औद्योगिक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा प्रणाली नै बिग्रेको उनको भनाइ थियो ।
‘किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको हो,’ उनले भने, ‘हेर्दाहेर्दै सबै कृषि उपज किनेर खानुपर्ने दिन आयो ।’
कृषिप्रधान मुलुकमा अन्न पनि किनेर खानुपर्ने स्थिति आएको उनले बताए । ‘हेर्दाहेर्दै फलफूल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दूध किनेर खानुपर्ने दिन आए,’ उनले भने । कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर आशा जगाइदिएको भुसालले बताए । कोरोनाले सिकाएको पाठलाई याद नगरे ठूलो गल्ती हुने उनको भनाइ थियो ।
गएको दशकमा कृषि मन्त्रालयभित्र पनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्नेतर्फ मात्रै ध्यान केन्द्रित भएकाले कृषि क्षेत्रको विकासमा मन्त्रालयले प्रभावकारी काम गर्न नसकेको उनले स्पष्ट पारे । केही दशक खेर गइसकेकाले अब नयाँ व्यवस्थाअनुसार कृषि उत्पादनलाई अगाडि बढाउन खोजिएको उनले जानकारी दिए । नयाँ व्यवस्थाअनुसार कृषि क्षेत्रमा लाग्ने कुनै पनि किसानको जीवन, स्वास्थ्य, शिक्षा, सुरक्षाका विषयमा सरकारले ग्यारेन्टी लिने गरी व्यवस्थापन गर्न लागिएको उनले बताए ।