काठमाडौँ । कोरोना संक्रमणको कारण शुक्रबार बिहानै तीन महिला र तीन पुरुष गरी थप सात जनाको मृत्यु भएको छ । भक्तपुर, मकवानपुर, झापा, मोरङ, चितवन, रूपन्देही र सिराहाका गरेर थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुने महिलाहरुमा भक्तपुरकी ६२ वर्षीया, मकवानपुरकी ७१ वर्षीया, मोरङकी ५६ वर्षीया, सिराहाकी छन् भने पुरुषमा चितवनकै ५१ वर्षीय, झापाका ७३ वर्षीय र रूपन्देहीका ६० वर्षीय छन् ।
चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ की ७१ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले दिएको जानकारीअनुसार दम र निमोनियाको समस्या देखिएपछि परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनी ७ भदौमा अस्पतालमा भर्ना भएकी थिइन् ।
भरतपुर महानगरपालिका २, क्षेत्रपुरका ५१ वर्षीय पुरूषको पनि भरतपुरको श्री पुष्पाञ्जली अस्पतालमा उपचारका क्रममा आज बिहान १० बजे मृत्यु भएको हो । अस्पतालले प्रेस विज्ञप्ति जारी गरी उनको मृत्यु भएको पुष्टि गरेको छ । अस्पतालका अनुसार उनी भदौ ५ गते श्वासप्रश्वास समस्या भई अस्पतालमा भर्ना भएका थिए । सो क्रममा उनको स्वाब परीक्षणका लागि पठाइएकामा भदौ ८ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
ती बिरामी दम, निमोनियाँलगायत रोगबाट ग्रसित थिए । उनको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराइराखिएको अस्पतालले जनाएको छ । योसँगै आज मात्रै चितवनमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यसैगरी झापाको कमल गाउँपालिका ३ केर्खाका ८३ वर्षीय एक वृद्धको पनि आज बिहान उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेका अनुसार मृत्यु भएका वृद्ध एक साता अघि नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल पुगेका थिए । त्यसपछि पीसीआर परीक्षण गराउँदा वृद्ध र उनकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो । हाल उनकी नातिनीको भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।
त्यसैगरी मोरङकी ५६ वर्षीया एक महिलाको पनि शुक्रबार बिहान पौने ४ बजेतिर धरानमा मृत्यु भएको थियो । चिकित्सकका अनुसार उनमा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।
त्यसैगरी कोरोना संक्रमणको कारण भक्तपुर मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि पुगेकी स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको थियो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दिएको जानकारीअनुसार उच्च रक्तचापकी बिरामी महिलामा मृत्युपछि मात्र कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले पनि दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए ।
त्यस्तै रुपन्देहीमा कोरोनाबाट ६० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आइसीयुको भेन्टिलेटरमा उपचारत तिलोत्तमा नगरपालिका ४ निवासी ती पुरुषको शुक्रबार बिहान २:३० बजे मृत्यु भएको हो ।
अस्पतालले दिएको जानकारी अनुसार भदौ ७ गते कोरोना पुष्टि भएपछि उनलाइ अस्पतालमा भर्ना गराइएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो भने उनी दिर्घ रोगी, प्रेसरका रोगी भएको अस्पतालले बताएको छ ।
विराटनगरबाट प्राप्त समाचारअनुसार कोशी अस्पतालमा कोरोना संक्रमणका कारण सिरहाको लहानकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट चुमनलाल दासले जानकारी दिए ।दासका अनुसार उनलाई अस्पतालमा बिहीबार ल्याएको थियो । फोक्सोको रोग भएकी उनको शव ब्यवस्थापनको तयारी भइरहेको दासको भनाइ छ ।
