एजेन्सी । आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो जित दर्ता गरेको छ । मंगलबार बेलुकी सम्पन्न खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना थप बलियो बनाएको हो ।
जितको लागि ८५ रनको झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३.३ ओभरमै ४ विकेटको क्षतिमा ८६ रन बनाउँदै लक्ष्य भेट्टायो । अफ्रिकाको लागि टेम्बा बाभुमाले सर्वाधिक ३१ रन जोडे । उनले २८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । रसिए भान डेर डुसेनले २२, क्विन्टिन डि ककले १६, डेभिड मिल्नरले ५ रेजा हेन्ड्रिक्सले ४ रनको योगदान गरे ।
बंगलादेशको लागि टास्किन अहमेदले ४ ओभरमा १८ रन दिएर २ विकेट लिँदा महेदी हसन र नासुम अहमेदले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेश १८.२ ओभरमा अलआउट हुँदै मात्र ८४ रनमा समेटिएको थियो । बंगलादेशको लागि महेदी हसनले २७, लिटोन दासले २४ र शमिम होसाइनले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । बंगलादेशका ५ ब्याट्सम्यान खाता खोल्न नसकी पभिलियन फर्किएका थिए ।
दक्षिण अफ्रिकाको लागि अन्रिच नोर्त्जेले ३.२ ओभरमा ८ रन दिएर ३ विकेट लिए । कागिसो रबडाले ४ ओभरमा २० रन दिएर ३ विकेट लिँदा टाब्राइज शाम्सीले २ र ड्वाइने प्रेटोरिउसले एक विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिका ४ खेलबाट ६ अङ्क जोड्दै समूह १ को शिर्ष स्थानमा उक्लिएको छ । लगातार ४ खेलमा पराजित बंगलादेश अङ्कविहिन रहँदै समूहको पुछारमा छ ।