कानुन व्यवसायीहरुको दबावलाई प्रधानन्यायाधीशले कुनै हिसावले निकास दिनुपर्छः वरिष्ठ अधिवक्ता ढुंगाना

काठमाडौं । पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले कानुन व्यवसायीहरुको दबावलाई प्रधानन्यायाधीशले कुनै न कुनै हिसावले निकास दिनुपर्ने बताएका छन् ।

सोमबार दोस्रो दिन नेपाल बारमा धर्ना दिन पुगेका ढुंगानाले कानुन व्यवसायीहरुको दबावलाई नजरअन्दाज गर्न नहुने बताएका हुन् । उनले राजनीतिक दलहरु अदालतको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न मिल्दैन भनेर पन्छिएको आरोप लगाए । देशको परिस्थिति यो अवस्थामा आइपुग्दा समेत राजनीतिक दलहरुले न्यायाधीशहरुको बहुमतलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाए ।

ढुंगानाले राजनीतिक पार्टीहरु निरपेक्ष भएर बस्ने हो भने यो आन्दोलन राजनीतिक दलहरुतिर नै लक्षित हुने बताए । उनले भने,‘ कानुन व्यवसायी मात्रै नभई न्यायाधीशहरुले पनि बहिष्कार गरेका छन्, प्रधानन्यायाधीशले यो दबावलाई कुनै न कुनै किसिमले निकास दिनुपर्छ, कता कता अदालतको स्वतन्त्रतामाथि दखल हस्तक्षेप गर्न मिल्दैन भनेर राजनीतिक दलहरु पलायन हुन खोज्नुभएको छ । उहाँहरुले त्यहाँ गल्ती गरिरहनुभएको छ । हस्तक्षेप नगरी निकास खोज्ने काम राजनीतिक दलको हो ।’

नेपाल बारले प्रधानन्यायाधीको राजीनामा माग गर्दै आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ । जसमा बुधबारसम्म हातमा कालोपट्टी बाँधेर प्रदर्शन गर्ने र बुधबारसम्म राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बारले जनाएको छ । सर्वोच्चका न्यायाधीशहरु र कानुन व्यवसायीको आन्दोलनका कारण सर्वोच्चमा एक सातादेखि मुद्दाको सुनुवाई हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *