एजेन्सी । दुई गोलको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुल ब्रिघटनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
एन्फिल्डमा भएको खेलमा लिभरपुलको लागि जोर्डान हेन्डरसन र साडियो मानेले एक/एक गोल गर्दा ब्रिघटनको लागि इनोक म्वेपु र लेअन्द्रो ट्रोसार्डले एक/एक गोल गरे । खेलको चौथो मिनेटमै सलाहको पासमा हेन्डरसनले गोल गर्दै लिभरपुललाई खेलमा अगाडि बढाएका थिए । २४ औं मिनेटमा चाम्बर्लिनको पासमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।
४१ औं मिनेटमा मार्चको पासमा इनोक म्वेपुले गोल गर्दै ब्रिघटनलाई २-१ गोलको स्थितिमा ल्याए । ६५ औं मिनेटमा ललनाको पासमा ट्रोसार्डले गोल गर्दै ब्रिघटनलाई बराबरीमा ल्याए । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढे ।
बराबरीसँगै लिभरपुल १० खेलबाट २२ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट १६ अङ्क जोड्दै ब्रिघटन छैटौं स्थानमा छ ।
यस्तै आजै भएको अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले क्रिस्चल प्यालेससँग २-० गोलको हार बेहोरेको छ । ईतिहास रंगशालामा भएको खेलमा प्यालेसलाई जित दिलाउन विल्फ्रेड जाहा र कोनोर गाल्लाघेरले समान १/१ गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा अय्म्रिक लापोर्ते रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा समेटिएको थियो । विपक्षी खेलाडी जाहामाथि खराब फावल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।
जितसँगै प्यालेस १० खेलबाट १२ अङ्क जोड्दै लिगको १३ औं स्थानमा उक्लिदा पराजित सिटी २० अङ्कको साथ तेस्रो स्थानमा यथावत छ ।