एजेन्सी । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप क्रिकेटमा दोस्रो जित निकालेको छ । शनिबार बेलुकी सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो ।
जितको लागि १ सय ४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ बल बाँकी रहेको अवस्थामा ६ विकेटको क्षतिमा १ सय ४६ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । दक्षिण अफ्रिकाको लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ४६ रन जोडे । यस्तै डेभिड मिल्नरले २३, ऐडेन मार्क्रमले १९, भान डेर डुसानले १६, कागिसो रबडाले १३, डि ककले १२ र रेजा हेन्ड्रिक्सले ११ रनको योगदान गरे ।
श्रीलंकाको लागि वानिन्डु हासाराङा डे सिल्भाले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए । डुश्मान्था चामेराले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको श्रीलंकाले पाथुम निसान्काको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४२ रन बनाएको थियो । निसान्काले ५८ बलमा ६ चौका र ३ छक्कासहित ७२ रन जोडे । चारिथ असालन्काले १४ बलमा २ चौका र १ छक्कासहित २१ रन जोडे । यस्तै डासुम शानाकले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।
दक्षिण अफ्रिकाको लागि ड्वाइने प्रेटोरिउसले ३ ओभरमा १७ रन जोड्दै ३ विकेट लिए । टाब्राइज शाम्सीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिँदा अन्रिच नोर्त्जेले २ विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिक ३ खेलबाट ४ अङ्क जोड्दै समूह १ को तेस्रो स्थानमा रहेको छ । पराजित श्रीलंका ३ खेलबाट २ अङ्कको साथ चौथो स्थानमा छ ।