काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोयोर्याउन नहुने बताएका छन् । नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको शुभकामना आदान प्रदान कार्यक्रमा नेता सिंहले १३ औं महाधिवेशनपछिको नेतृत्वले पाएको जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए ।
उनले पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै विग्रने बताए । ‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन् ।’ उनले भने, ‘ अवसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’
साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेका बताउँदै विधी र नियमपूर्वक समाधान गर्नुपर्ने बताए । उनले रौतहट जिल्लाका कार्यकर्ताहरु धर्ना बसेको सय दिन वितिसक्दा पनि नेतृत्व मौन रहेको भन्दै आपत्ति जनाए ।
विधि र नियम अनुसार अगाडि बढेको भए अहिलेको समस्या नआउने भन्दै नेता सिंहले विधि र नियम पालना गर्न अहिलेको नेतृत्वलाई कस्ले छेक्यो भन्ने प्रश्न गरे । पार्टीका आगामी १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनुपर्ने उनको भनाई छ ।
नेता सिंहले अहिले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समधान गर्नुपर्ने बताए । न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्तिको स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताए ।