एजेन्सी । आईसीसी विश्वकप क्रिकेट लिगमा वेस्ट इन्डिजले रोमाञ्चक जित निकालेको छ । शुक्रबार बेलुकी सप्पन्न सुपर १२ को खेलमा बंगलादेशलाई ३ रनले हराउँदै वेस्ट इन्डिजले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । हारसँगै बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।
जितको लागि १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३९ रनमात्र बनाउन सक्यो । इनिङ्सको अन्तिम ओभरमा बंगलादेशलाई ६ बलमा १३ रनको आवश्यकता थियो । तर अन्तिम ओभरमा बलिङ गरेका रुसेलले मात्र ९ रन दिँदै वेस्ट इन्डिजलाई जित दिलाए ।
बंगलादेशको लागि लिटोन दासले सर्वाधिक ४४ रन बनाए । उनले ४३ बलमा ४ चौका प्रहार गरे । महमुदुल्लाहले २४ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाउँदा मोहम्मद नाइम र सोम्य सरकारले समान १७/१७ रनको योगदान गरे ।
इन्डिजको लागि रवि रामपल, जेसन होल्डर, आन्द्रे रसेल, अकेल होसेन र ड्वायन ब्राभोले समान १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो । वेस्ट इन्डिजलाई निकलोस पोरान र रोस्टन चेसले सम्मानजनक स्कोरमा पुर्याएका थिए । पोरानले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ४ छक्का र १ चौकासहित ४० रन बनाए । चेसले ४६ बलमा २ चौकासहित ३९ रन बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो ब्याटिङ गर्न सकेनन् ।
बंगलादेशको लागि माहेदी हसन, मुस्तफिजुर रहमान र शोरिफुल इस्लामले समान २/२ विकेट लिए ।
जितसँगै इन्डिज ३ खेलबाट २ अङ्क जोड्दै पाँचौ स्थानमा रहेको छ । समूहको तीनै खेलमा पराजित अङ्कविहिन रहँदै समूहको पुछारमा छ । यससँगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।