डा. रामशरण महतको प्रश्नः चीनलाई खुसी पार्न नेपालको हित बिर्सेर एमसीसीको विरोध गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले राजनीतिक स्वार्थ, पूर्वाग्रह, भ्रम र अज्ञानताका कारण एमसीसीको विरोध भइरहेको आरोप लगाएका छन् ।

डा. महतले भने, “चीनलाई खुसी पार्न अमेरिकाको विरोध गर्नुपर्छ भन्ने पूर्वाग्रहका आधारमा गलत अर्थ लगाएर भ्रम फैलाइएको छ । कहिले अमेरिकी सेना आउँछ भन्छन्, कहिले सुरक्षा सम्बन्ध छ भन्छन्, कहिले अमेरिकी कानुन लागू हुन्छ भन्छन् । यी सबै मिस्प्रोजेक्सन हो । यति उदारताका साथ कुनै पनि मुलुक र संस्थाले आर्थिक अनुदान दिँदैनन् ।”

डा. महतले एमसीसी नेपालको आर्थिक हितमा रहेको पनि बताए । उनले भने, “गरिबी निवारणका लागि आर्थिक वृद्धि गर्नुपर्छ । संसारभरिका कम आय भएका गरिब मुलुकसँग धनी मुलुकले साझेदारी गर्नुपर्छ भनेर यो अनुदान आएको हो । यसमा आपत्तिजनक बुँदा केही पनि छैन । सबै खाले विदेशी सहायताको समयमै कार्यान्वयनका लागि निश्चित विधि हुन्छन् । विश्व बैंक, एडीबीले पनि त्यसै गर्ने हुन् ।”

उनले थपे, “जुन जुन विषयमा गलत अर्थ लगाइएको छ, त्यसमा एमसीसीले चित्त बुझ्ने किसिमले ११ बुँदे स्पष्टीकरण दिइसकेको छ । अब नेपालको सरकारले जे निर्णय गर्छ, त्यही लागू हुन्छ । त्यसैले यसलाई नेपालका प्रत्येक सरकारले सहयोग गरेको हो । एमालेको नेतृत्वमा हुँदा पनि, कांग्रेसको सरकार हुँदा पनि । त्यसैले यसलाई मनन गरी प्रचण्ड र माधव नेपालले पनि सहयोग गर्नुपर्छ ।”

नेता डा. महतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउने बारे कांग्रेसमा कुनै पनि छलफल नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *