काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिने निर्णय गरेको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जानकारी दिए । बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने गुनासो व्यापक भएपछि उपत्यकाका तीनै जना सिडिओको आकस्मिक बैठक बसेको थियो ।
उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि गत मंगलबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबार मध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा भदौ १ गते मध्यरातिसम्म कायम हुनेछ ।
