काठमाडौं । नेपाली राष्ट्रिय महिला फूटबल टोलीको एएफसी महिला एसिया कप-२०२२ खेल्ने सपना समाप्त भएको छ । मंगलबार दिउँसो भएको छनोटको दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरीमा रोकिएसँगै नेपालको एसिया कप खेल्ने सपना समाप्त भएको हो ।
उज्बेकिस्तानको जार रंगशालामा भएको खेलमा नेपालले बलियो हंङकंङसँग ०-० गोलको बराबरी खेलेको हो । फिफा वरीयतामा हंङकंङ ७६ औं स्थानमा छ भने नेपाल १ सय १ औं स्थानमा रहेको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोलले पराजित भएको थियो । खेलको दसौं मिनेटमै बिमला चौधरीले गोल गर्दै नेपाललाई खेलमा अगाडि बढाएपनि अन्तिम समयमा समालिन नसक्दा दुई गोल बेहोर्दै पराजित भएको थियो ।
यससँगै नेपाल २ खेलबाट १ अंक जोड्दै समूह ‘एफ’को तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेल्दै समान अंक जोडेको हंङकंङ दोस्रो स्थानमा छ भने ३ अंक जोडेको फिलिपिन्स समूहको शिर्ष स्थानमा छ ।
अब हुने समूहको अन्तिम खेलमा हंङकंङ र फिलिपिन्स भिड्नेछन् । उक्त खेलको नतिजाले एसिया कपमा छनोट हुने टोलीको टुङ्गो लाग्नेछ । हरेक समूहको शिर्ष स्थानमा रहने टोलीले अर्को वर्ष भारतमा हुने महिला एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।