काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले संसद्लाई बन्धक बनाएर नेकपा एमालेले मण्डले पारा देखाएको आरोप लगाएका छन् । एमालेले जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका नखेली लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएको उनको धारणा छ ।
नेता खनालले भने, “सभामुखविरुद्धका एमालेका गतिविधिले मण्डले प्रवृत्तिको सम्झना गराएको छ । जिम्मेवार प्रतिपक्षका मर्यादित सांसदले त्यस्तो काम गर्न सक्दैनन् । यसले नेकपा एमालेको नेतृत्व पतित भएको देखाएको छ । यसले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएको छ ।”
संसद्लाई बन्धक बनाएर कसैलाई बोल्नै नदिनु, संसदीय गतिविधि गर्न नदिनु चरम अराजकता भएको खनालले बताए । उनले थपे, “म व्यक्तिगत रुपमा सभामुखको भूमिकामा कमजोरी देख्दिनँ । संसद्मा अराजकता हावी भएको छ । जसरी बल प्रयोग हुन थालेको छ, त्यसले संसदीय गरिमा ध्वस्त हुन्छ । सभामुखविरुद्ध नाराबाजी गर्न पाइँदैन । अदालतमा विचाराधीन मुद्दामा संसद्मा छलफल हुँदैन । केपी ओलीले सारा मूल्य र मान्यतालाई कुल्चँदै गएका छन् । दशकौं लगाएर बनाएको सांसदहरुको छवि र व्यक्तित्व धुलोमा मिलाइदिएका छन् ।”
उनले जिम्मेवार प्रतिपक्षले रचनात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, “हो, विगतमा एमालेका सांसदले माइक भाँच्ने लगायत असंसदीय गतिविधि गरेका हुन् । हामीले ती कुराबाट सिकेर आएका हौं । विगतबाट नसिक्ने हो भने हामीले देशलाई कसरी अग्रगति दिन सक्छौं ?”