एमसीसी परियोजना पारित गरेर देखाउन सत्ता गठबन्धनलाई चुनौती

काठमाडौं। नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसी परियोजना पारित गरेर देखाउन सत्ता गठबन्धनलाई चुनौती दिएका छन् । उनले १ सय ६५ सांसदको बहुमत भएको सरकारलाई एमालेको समर्थन किन चाहियो भन्ने प्रश्न गरे ।
नेता भट्टराईले भने, “एमसीसीको टोलीले हिजो हाम्रा अध्यक्ष केपी शर्मा ओलीसँग भेट्यो । हामीले स्पष्ट रुपमा के भन्यौं भने एमसीसी हामीले गरेको सम्झौता होइन, तर मुलुकको सरकारले गरेको सम्झौता भएकाले त्यसलाई निरन्तरता दिने कोसिस गरेका हौं । अहिले हामी प्रतिपक्षमा छौं । हामीलाई सरकारले एमसीसीबारे के गर्ने भन्नेबारे छलफल पनि गरेको छैन । यसमा धारणा पनि बनाएका छैनौं ।”
सत्तामा हुँदा एमसीसी चाहिन्छ भनेर संसद्मा ल्याउने एमाले विपक्षमा पुग्नेबित्तिकै सरक्क पन्छिन मिल्छ भन्ने प्रश्नमा भट्टराईले भने, “सरकारले केही पनि प्रस्ताव ल्याएको छैन । अहिले हामी विपक्षमा छौं । यसमा एमालेलाई अनावश्यक विवादमा तान्नु आवश्यक छैन । सत्ता गठबन्धनले हामीसँग १६५ को सिट छ भनेर दम्भ गरेको होइन ? बहुमतका लागि १ सय ३६ मत भए पुग्छ । हामी अहिले ड्राइभिङ सिटमा छैनौं । राष्ट्रिय सहमतिको पहल गर्ने हैेसियतमा पनि छैनौं । चौतर्फी घेराबन्दी गरी संवैधानिक र असंवैधानिक रुपमा सत्ताबाट हटाइएको छ । आवश्यकता परेछ भन्ने एमालेले धारणा बनाउँछ ।”

नेता भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको नांगो, भेदभावपूर्ण र पूर्वाग्रही शैली रहेको अवस्थामा कसरी संसद चल्न सक्छ भन्ने प्रश्न गरे । उनले भने, “सभामुखले एउटा दललाई एउटा व्यवहार, अर्को दललाई अर्को व्यवहार गर्न मिल्छ ? संसद्मा सभामुखको भूमिका यस्तो रहुन्जेल संसद् कसरी चल्छ ? सभामुख, प्रधानमन्त्री, अर्थमन्त्रीले यो बुझ्नुपर्यो ।”

नेकपा एमाले केही पनि होइन भन्ने व्यवहार सह्य नहुने चेतावनी पनि उनले दिए । उनले थपे, “पार्टीले कारबाही गरिसकेका मानिसलाई लिएर एमाले फुटाइदिने सभामुख अहिले अदालतको हवाला दिइरहनुभएको छ । अदालतको कुरा गर्ने हो भने उहाँलाई ज्यान मारेको मुद्दा छ, धरानमा व्यक्तिको जग्गा अरुलाई बाँडेको मुद्दा छ, नैतिकहीनले अरुलाई नैतिकता सिकाउन मिल्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *