काठमाडौं । भारतले दार्चुलाको तुइन प्रकरणबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे केही नबोल्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यो विषय संचारमाध्यमबाट केही सुनेको तर औपचारिक रुपमा कुनै जानकारी नआएको बताएका हुन् ।
उनले भने,‘ यसबारेमा नेपाल सरकाबाट केही जानकारी आइनसकेकोले यसबारे म केही भन्न सक्दिनँ ।’ उनले यस विषयमा भारतमा पनि कुनै अनुसन्धान भए नभएकोबारे पनि केही जानकारी नभएको बताए ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएका थिए । यस सम्बन्धमा गृह मन्त्रालयको छानबिन टोलीले कूटनीतिक पहलमार्फत घटनामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सुझाव दिएको थियो । उक्त सुझावअनुसार गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ ।