काठमाडौं । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले महन्थ ठाकुर–राजेन्द्र महतोहरूलाई देउवा सरकारमा सामेल हुने नैतिक अधिकार नभएको बताएका छन् । जुनसुकै सरकारमा जान खुट्टा उचाल्नु राजनीतिक चरित्र नभएको पनि उनको तर्क छ ।
सरकारमा जान आफ्नो पार्टीमा कुनै हानथाप नभएको पनि उनको दाबी छ । मन्त्रिपरिषद् विस्तार छाडेर किन तराईमा भन्ने प्रश्नमा उनले थपे, “हामी मन्त्रीका लागि लडेका होइनौं । त्यसैले हाम्रो पार्टीभित्र कुनै हानथाप छैन । सरकारले अब केही दिनमै पूर्णता पाउँछ । जति वटा मन्त्रालय पाउँछौं, त्यसलाई टुंग्याउँछौं । हाम्रा तर्फबाट समस्या आउँदैन । गठबन्धनलाई चुनावसम्म बचाउनुपर्छ ।” सरकारमा जाने सम्बन्धमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अधिकार हुने उनले बताए ।
सातै प्रदेशमा कार्यक्रम गर्दा आफ्नो पार्टीको पक्षमा लहर आएको पनि उनले दाबी गरे । उनले भने, “देशभरि वैकल्पिक शक्ति बन्ने उत्साह छ । जसपा जनताको भरोसा र विश्वासको पार्टी भएको छ । पहिचान र अधिकारको लागि विविधता अँगालेको पार्टी भएको छ । त्यसैले पार्टी प्रवेशको लहर नै चलेको छ ।”
उनले महन्थ र ठाकुरको पार्टी केही पुरानो मान्छे लागे पनि जनता नलागेको दाबी गरे । उनले थपे, “हाम्रो पार्टीमा त्यसको कुनै असर परेको छैन । उहाँहरुप्रति जनताको कुनै आकर्षण छैन, जहाँ जसपा छ, त्यहाँ जनता छन् । को जनपक्षीय दल हो भन्ने जनताले बुझिसकेका छन् ।”