विभाजन अपजसबाट जोगिन आरोप–प्रत्यारोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरूले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन्। केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। ओलीले नेतृत्व गरेको एमालेबाट अलग भएका नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन्।

ललितपुरका अलगअलग स्थानमा शनिबार आयोजित अलगअलग कार्यक्रममा एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपालले गरेको सम्बोधन पनि जनप्रतिनिधि र नेता–कार्यकर्ता लक्षित थियो। ओली र नेपालले एमाले विभाजनको दोष एकअर्कालाई लगाएर आफू चोखो हुन खोजिरहेका छन्। यसको अर्थ ओली एमालेबाट निर्वाचित जनप्रतिनिधि र नेता–कार्यकर्तालाई नेपालको पार्टीमा जानबाट रोक्न चाहन्छन् भने नेपाल एमालेबाट निर्वाचित जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा बढीभन्दा बढी तान्न चाहन्छन्।

एमाले अध्यक्ष ओलीले पार्टी विभाजन गरेको भन्दै नेपालको कडा आलोचना गरेका छन्। युवा संघद्वारा ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विभाजनतिर लागेका नेता नेपालसहितलाई कुलंगारको संज्ञा दिए। उनले नेपालप्रति लक्षित गर्दै एकदुई पात झर्दैमा रूखले चिन्ता मान्नुपर्दैन भन्दै कार्यकर्तालाई ढाडस दिए। ओलीले आफूले पार्टी एकीकरण गरेको, संसद्मा पार्टीलाई लगभग दुई तिहाइको स्थितिमा पुर्‍याएको, सातमध्ये ६ प्रदेशमा पार्टीको बहुमतको सरकार बनाएको, ३५ हजारमध्ये २० हजारभन्दा बढी स्थानमा पार्टीका उम्मेदवार जिताएको बताउँदै यो प्रगतिलाई केही नेताले सहन नसकेर पार्टी विभाजन गरेको आरोप लगाए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *