माधव नेपालसहितका १४ सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई एमालेको दबाब

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई दबाब दिएको छ ।

अग्नि खरेलसहितका एमाले नेताहरु मंगलबार निर्वाचनमा आयोगमा पुगेर पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै ह्वीप उल्लंघन गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई दबाब दिएका हुन् ।

नेकपा एमाले दल फुटाउनको निम्ति अध्यादेश ल्याएको भन्दै विभाग प्रमुख खरेलले मूल दल (एमाले)लाई रोहबरमा राखेर काम गर्न सुझाव दिए । यता निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरुले नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र ल्याउनुपर्ने बताए ।

उनले संघीय संसदका सदस्यहरुको हकमा भने संघीय संसदबाट जारी गरिएको परिचय पत्र लिएर उपस्थित हुनुपर्ने प्रावधान रहेको उल्लेख गरे । भारतमा उपचाररत नेता झलनाथ खनालको विषयलाई भने आयोगले आफ्नो विवेकले निस्कर्ष निकाल्ने बताए । निर्वाचन आयोगले दल दर्ता गर्नका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी)लाई बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *