धुलिखेल अस्पतालमा कोरोनाबाट ९८ वर्षीय वृद्धको मृत्यु

काठमाडौँ । कोरोना संक्रमित एक वृद्धाको काभ्रेस्थित धुलिखेल अस्पतालमा आज बिहान मृत्यु भएको छ । धुलिखेल कै ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा साउन २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ ।

उनको शव व्यवस्थापन गरेर सरकारले तयार पारेको कार्यविधिअनुसार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी गरिएको उनले जानकारी दिए । योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि साउन २६ गते पाँचखाल १ की ५० वर्षीया महिलाको ललितपुरस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएको थियो । हालसम्म काभ्रेमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *