रामपुर । चाउरी परेका गाला, हँसिलो अनुहारमा घरको पिँढीमा टुक्रुक्क बसेर गोरीसरा सारु भन्दै थिइन्, “हाम्रा जमनामा दुःखका दिन थिए, अबका पुस्ता ती दःुखका दिन सम्झाउँदा पत्याउदैनन्, जमना फेरिँदै गयो ।” उकाली–ओराली गर्दै दुःखका जीवन झेलेकी निस्दी गाउँपालिका–५ ढुङ्गानाबेँसी बस्ने सारु ८२ वर्ष काटिन् । अहिले पक्की सडकमा जोडिएको पक्की घरमा बसेर हिजोका दिनहरू स्मरण गर्दै आजको सुखसुविधा उपभोग गर्न पाउँदा दङ्ग छिन् ।
जीवनको उत्तराद्र्धमा भए पनि आफ्नै हातले स्वीच दबाएर झलमल्ल बत्ती बाल्दा उनी निकै खुशी छिन् । उनका जमानामा घरमा उज्यालो दिने टुकी बत्ती मात्र थियो । अहिलेजस्तो बिजुली या सोलार कुनै थिएनन् । आजभन्दा करिब एक दशकअघि यहाँका स्थानीयवासीको सक्रियतामा निस्दी लघुजलविद्युत् आयोजनामार्फत विद्युत् उत्पादन गरी घरघरमा बत्ती बल्न थालेपछि उनीजस्ता उमेरले उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिक फुरुङ्ग छन् ।
“पहिले अँध्यारोमा पुराना कपडा च्याती बटारेर चिउरीको तेल हालेर सानो टुकी बालिन्थ्यो, टुकीबाटै जीवन धानियो तर अहिले भने जमाना फेरिए, घरभित्र झलझल बत्ती बल्छ, घरको दैलोबाट बाटोमा टेक्यो कि पक्की सडक छ”, उनले भनिन् । सोही ठाउँकै ७८ वर्षीया लालकुमारी राईले टुकीको उज्यालोमै चार सन्तान हुर्काइन् । अहिले भने आफैँले विद्युत्को प्रयोग गरी खाना पकाउने, बत्ती बाल्ने गर्दा उनलाई कताकता सपनाजस्तो पनि लाग्छ । बुढेसकालमा सुविधा उपभोग गर्न पाउँदा उनी खुशी छिन् ।
गाउँमा कुटानी पिसानी मिल थिएन, ढिकी, जाँतो बिहान सबेरै उठेर गर्नुपर्ने, राति अबेरसम्म पनि घरधन्दा सकिँदैनथ्यो । राईले अँध्यारोमा एउटा हातले काखमा बच्चा च्यापेर अर्को हातले टुकी समातेर घर गृहस्थी गर्थिन् ।
उनी भन्छिन्, “छोराछोरीलाई पढाउन बत्ती नहुँदा समस्या, एउटा सानो टुकीको उज्यालोमा जीविका चलाइयो, छोराछोरीले राम्ररी पढ्न लेख्न नि पाएनन् । अहिलेजस्तो बिजुली बत्तीको सुविधा भए त सबैले राम्रैसँग पढिन्थ्यो होला ।” आफूले प्रयोग गरेको टुकी बत्ती देखाउँदै, “म जवान हुँदै बटौली बजार (अहिलेको बुटवल) मा पाँच मोहरमा किनेको टुकी अहिले पनि राखिरहेको छु, अहिले यसको प्रयोग नभए पनि नाति नातिनालाई बेलाबेलामा झिकेर देखाउने गर्छु”, भनिन् ।
त्यही टुकी बत्ती किन्न बटौली बजारमा कम्तीमा दुई हप्ता पैदल हिँडेर पुगेकी राईलाई अहिले पनि सम्झना छ । टुक्रा पारेर च्यातिएको कपडालाई बटारेर चिउरी पेलेर निकालिएको तेलबाट टुकी बालिन्थ्यो । त्यस समयमा यो नै उज्यालो बत्तीको भरपर्दो माध्यम थियो । घरघरमा रेडियो, टिभी बजेको देख्दा र सुन्दा मनिसरा बयम्बुले पनि हिजोका ती दुःखका दिनको स्मरण गर्छिन् ।
उनलाई आफ्नै जीवनकालमा आएका यी परिवर्तन एकादेशको कथाजस्तै लाग्छ । आजको पुस्ताले हिजोका पुस्ताका दुःख सुन्न त्यति मन गर्दैनन् । तैपनि उहाँले आफ्नो मन हलुको बनाउन बेलाबेलामा सुनाउने गर्छिन् । उनलाई घरको पिँढीमा बसेर रेडियोमा समाचार, गीत सुन्दा, टिभी हेर्दा, राति पनि घरै झलमल हुने गरीे बत्ती बलेको देख्दा गाउँ नै शहरजस्तो लाग्छ ।
यहाँका स्थानीयवासीले आयोजनामार्फत घरघरमा बिजुली बत्ती बलेपछि गाउँमा विकासको आधार बनेको महसुस गरेका छन् । आयोजनाबाट विद्युत् सेवा पुगेपछि लेखपढ मात्र होइन कि रेडियो सुन्न, टिभी हेर्न र खाना पकाउन पनि सजिलो भएको छ ।
स्थानीयवासीको जनश्रमदान र विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, स्थानीय समूहको सहयोगमा करिब ५० लाखको लागतमा आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । हाल १४८ घरधुरीका स्थानीयवासीले आयोजनामार्फत विद्युत् सेवाको उपभोग गरिरहेका छन् । निस्दीखोलाको घ्याङ्गसरीमा बाँध बाँधेर बलौटे र पन्टारी खेत सिँचाइ हुने कुलोबाट पानीको व्यवस्थापन मिलाइ १४ किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको छ ।
सो आयोजना विसं २०६६ मा निर्माण भएको आयोजनाका अपरेटर गणेश ढुङ्गाना बताउँछन् । बत्तीमात्रै बाल्नेले मासिक शुल्क १००, टिभी, पङ्खा प्रयोग गर्नेले १५०, फ्रिज प्रयोगकर्ताले २००, आइरन प्रयोगकर्ताले २५० रुपैयाँ कायम गरिएको छ भने तोकिएको मासिक शुल्कमा प्रतियुनिट रु पाँचका दरले शुल्क निर्धारण गरिएको अपरेटर ढुङ्गानाले जानकारी दिए ।
ढुङ्गानाबेँसी, बडहरे, शनिसौराहा, खहरेखोला, कोल्टारी, मुढाभन्ज्याङ्लगायतका गाउँ बस्तीमा आयोजनाबाट विद्युत् सुविधा पुगेको छ । दैनिक बिहान ७ देखि ९ बजेसम्म दुई घण्टा विद्युत् लाइन बन्द हुने र अरु समय नियमित सञ्चालन भइरहेको छ ।
एक दशकअघि केन्द्रीय विद्युत प्रसारण लाइनको पहुँचबाट टाढा रहेका यहाँका स्थानीयवासीको सक्रियतामा आयोजना सञ्चालनमा ल्याई बिजुली बत्ती उपभोग गर्न थालेपछि छोराछोरीको पढाइ लेखाइमा धेरै सजिलो परेको स्थानीयवासी आममाया मश्राङ्गी बताउँछिन् ।
विद्युत् सुविधा पुगेपछि कार्यालयका काम गर्न, खाना पकाउन, गर्मी मौसममा पङ्खा चलाउन, रेडियो सुन्ने, टिभी हेर्नेलगायत विभिन्न क्षेत्रमा सुविधा उपभोग गर्न पाइएको गल्धा सामाजिक महिला उद्यमी सहकारी संस्थाका व्यवस्थापक डिलमाया रानाले बताइन् । “दुई÷तीन महिना अघिमात्रै गाउँमा केन्द्रीय विद्युत् लाइन आए पनि उपभोग गरिएको छैन, दिनमा दुई घण्टा पनि बत्ती आउँदैन, त्यो नि घरी आउने घरी जाने भइरहेको छ, हामीलाई त लघुजलविद्युत् आयोजनाको बिजुली नै ठिक छ”, रानाले भनिन् ।
यहाँ केही महिनाअघि केन्द्रीय विद्युत् प्रसारण लाइनको सुविधा आए पनि नियमितता नहुँदा लघुजलविद्युत् आयोजना नै सबैले घरघरमा प्रयोग गरिरहेको राना बताउँछिन् । आयोजनामार्फत बाह्रै महिना विद्युत् सुविधा पुगिरहेको छ । विद्युत् सुविधाले अहिले यस क्षेत्रमा बैंक तथा वित्तीय संस्था सञ्चालन, विद्यालयमा कम्प्युटरलगायतका प्रविधि प्रयोगमा आएको छ ।
पहिले बत्तीमुनिको अँध्यारोजस्तै बनेको यो क्षेत्र सदरमुकाम तानसेनदेखि टाढा पर्छ । विद्युत्को पहुँचले अहिले यहाँ फाइवर इन्टरनेटको सुविधा पुगेपछि कोरोनाको महामारीमा विद्यार्थीले घरमै बसेर अनलाइन कक्षामार्फत पठनपाठनको सुविधा लिनसक्ने प्रेमकान्छा राई मगर बताउँछन् ।
अझै पनि पाल्पाका ग्रामीण भेगमा केन्द्रीय विद्युत् लाइनको पहुँच पुग्न भने सकेको छैन । केही ठाउँका स्थानीयवासीले आफ्नै लगानीमा लघुजलविद्युत् आयोजनामार्फत विद्युत् सेवा उपभोग गरिरहेका छन् ।
