प्रज्जवल थापा । आयरल्यान्डविरुद्वको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । सोमबार राति भएको खेलमा आयरल्यान्डलाई ३३ रनले हराउँदै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको हो ।
जितको लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन सक्यो । दुवै ओपनरलाई सस्तैमा गुमाएको आयरल्यान्डको इनिङ्स ह्यारी टेक्टोर र एन्डि बालबिर्नीले समालेका थिए । टेक्टरले ३४ बलमा ३ चौकाको सहयोगमा ३६ रन जोड्दा बालबिर्नीले १६ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । यस्तै अन्तिममा ब्याटिङ गर्न आएका ब्यारी मेककार्थीले ३० र जोश्वा लिटलले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।
आयरल्यान्डलाई सस्तैमा समेट्न टाब्राइज शाम्सीले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । लुङ्गी एगिदीले ४ ओभरमा १८ रन दिएर २ विकेट लिँदा जोर्ज लोन्देलेपनि २ र कागिसो रबाडाले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । अफ्रिकाको लागि एडिन मार्क्रामले सार्वधिक ३९ रन जोडे । उनले ३० बलमा २ छक्का र २ चौका प्रहार गरे । यस्तै डेभिड मिल्लरले २८, भान डेर डुसेनले २५, डि ककले २०, रबाडाले १९, बाभुमाले १३ र जोर्ज लिन्डेले १० रनको योगदान गरे ।
आयरल्यान्डको लागि मार्क एडाएरले ४ ओभरमा ३९ रन दिएर ३ विकेट लिँदा सिमि सिंह र जोउसा लिटलले समान २÷२ विकेट लिए । अब दुई टोलीबिचको दोस्रो टी–२० बिहीबार हुनेछ । यसअघि भएको ३ खेलको एकदिवसीय सिरिज १–१ को बराबरीमा सकिएको थियो ।