कुखुराको मासु किलोको ४१५ रूपैयाँ

काठमाडौं। कोभिड–१९ को असरले उत्पादन घटेपछि ब्रोइलर कुखुरा मासुको मूल्य बढेर किलोको चार सय १५ रूपैयाँ पुगेको छ। एक महिनाकै अवधिमा कुखुरा मासुको मूल्य किलोमा एक सय रूपैयाँ बढेको हो।

चल्ला, दानाको भाउ वृद्धि र कोभिडले जोखिम बढाउँदा ब्रोइलर कुखुरा थोरै उत्पादन भएकाले भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए। ‘एक महिनाकै अवधिमा किलोमा करिब सय रूपैयाँ मूल्य बढ्यो,’ बिसीले भने, ‘दुई हप्ताकै बीचमा चारपटक मूल्य बढेको छ।’

कोभिडको कारण निषेधाज्ञा हुँदा किसानले कम चल्ला राखेकाले त्यसको असर अहिले बजारमा देखिएको हो। कोल्डस्टोरले कुखुराको मासु किलोको ३ सय ८० देखि चार सय रूपैयाँ किलोसम्ममा बेचेका छन्। काठमाडौं उपत्यकामा खुद्रा बिक्रेताले कुखुराको मासु शनिबार किलोको चार सय १५ रूपैयाँमा बिक्री गरे।

काठमाडौंमा जिउँदो कुखुरा किलोको दुई सय ८० रूपैयाँमा बिक्री भएको छ।निषेधाज्ञा खुकुलो हुँदै जाँदा कुखुराको मासुको खपत पनि बढेको छ। अहिले होटल, रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। उत्पादन कम र माग बढेपछि त्यसको असर बजारमा देखिएको छ।

कोभिड सुरु भएपछि निकै घटेको मूल्य असारयता हप्तामै दुईपटकसम्म बढेको छ। कुखुरा मासुको मूल्य वृद्धि हुनुमा ह्याचरी उद्योग र बिचौलिया प्रमुख कारक रहेको कुखुरा उत्पादक किसानको आरोप छ। ह्याचरी उद्योग र बिचौलियाको मिलेमतोमा भाउ बढाएको नेपाल कुखुरापालक किसान संघको केन्द्रीय अध्यक्ष झलक पौडेलले आरोप लगाए।

चितवन लगायत तराईका किसानले जिउँदो कुखुरा किलोको दुई सय ४० र उपत्यकाका किसानले दुई सय ६० रूपैयाँमा बेचिरहेको पौडेलले बताए। ‘जिउँदो कुखुरा दुई सय ६० मा बिक्री हुँदा मासुको मूल्य तीन सय ६० रूपैयाँ हुनुपर्ने हो,’ अध्यक्ष पौडेलले भने, ‘मिलेमतोमा चार सय रूपैयाँभन्दा माथि पु¥याइएको छ।’

उपभोक्ताले धेरै मूल्य तिर्नु परे पनि किसानले उचित मूल्य नपाएको उनले गुनासो गरे। चल्ला र दानाको मूल्य बढेकाले पनि किसानको लागत बढेको पौडेलको तर्क छ। ‘सुरुमा कम चल्ला उत्पादन गरे,’ अध्यक्ष पौडेलले भने, ‘अहिले क्रमशः चल्लाको मूल्य बढाउँदै लगेका छन्।’ निषेधाज्ञाको समयमा किसानले चल्ला राख्न दाना, चल्ला नगदमा किन्न नसक्दा पनि थोरै चल्ला फर्ममा राखेको उनले बताए। कुखुराको मूल्य किसानले निर्धारण गर्न नपाएको उनको गुनासो छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *