साढे ३ वर्षपछि ओलीको बहिर्गमन

काठमाडौं। साढे ३ वर्ष सत्ताको बागडोर सम्हालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीबाट बिदा भएका छन्।

दुई तिहाइ बहुमतका साथ सत्तामा पुगेका ओलीले दोस्रोपटक गरेको संसद् विघटन बदर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सोमवार सर्वोच्च अदालतले परमादेश दिएसँगै मंगलवार देशवासीको नाममा सम्बोधन गर्दै उनी बिदा भएका हुन् ।

आफ्नो सरकार जनताको हितमा काम गर्न सफल भएको र जनताको जनादेशले नभई सर्वोच्चको परमादेशका कारण आफूले बिदा लिनु परेकोमा उनको दुःखेसो थियो । ‘यो नै अन्तिम बिदाइ पनि होइन । जनादेशले नभई अदालतको परमादेशका कारणले सरकारको जिम्मेवारीबाट बिदा लिँदै छु’ उनले भने, ‘जनादेश मेरो पक्षमा थियो, अदालतको परमादेश देउवाजीको पक्षमा गयो ।’

सरकारको उपलब्धिबारेमा समेत चर्चा गर्दै ओली पुनर्निर्माणदेखि कोरोना रोकथामसम्ममा सरकार सफल भएको दाबी गरे । कोरोनाभाइरस विरुद्धको २ करोड डोजभन्दा बढी खोप खरीद प्रक्रियाको टुंगो लागेको समेत उनको दाबी थियो । ओलीका अनुसार अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनसँग ५० लाख डोज, मोडर्ना र फाइजरसँग ४०÷४० लाख डोज तथा कोभिशिल्ड र अस्ट्राजेनेकाबाट २० लाख गरी १ करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा खरीदको टुंगो लागिसकेको छ ।

चीनसँग पनि थप ६० लाख खोप खरीदको टुंगो लागेको प्रधानमन्त्री ओलीले बताए। यी खोप कति मूल्यमा खरीदको टुंगो लागेको हो र कहिले आपूर्ति हुनेछ भन्ने उनले खुलाएनन् ।

सम्बोधनका क्रममा ओलीले सर्वोच्चको फैसलालाई लिएर असन्तुष्टि जनाए तर पनि संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले फैसला पालना गर्ने उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *