काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।
अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा छुट्टाछुट्टै निवेदन दर्ता भएको बताए।
प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार हरिनारायण यादव अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन परेको थियो। त्यसको तेस्रो दिन आइतबार अजय झा अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन दर्ता भएको जानकारी उनले दिए।
‘हामीले पार्टी दर्ताका लागि निवेदन लिएका मात्र हौं’, प्रवक्ता श्रेष्ठले भने, ‘निवेदन लिँदा पार्टीको नाम भिडाउने गरिँदैन।’ निवेदनमा छानबिन गरी विधिवत रूपमा पार्टी दर्ता गर्ने बेला भने नाम भिडाउने व्यवस्था कानुनमा रहेको उनले बताए।
पार्टी दर्ताका लागि एउटै नाममा पनि फरकफरक व्यक्तिले निवेदन दिन सक्ने बताउँदै श्रेष्ठले भने, ‘दल दर्ताको प्रमाणपत्र दिँदा भने सबै प्रक्रिया पूरा गर्छौं।’ दुई पार्टी एकीकरण भएपछि एक एक वर्षसम्म पुरानो दलको नाम आयोगमा दर्ता गर्न नमिल्ने कानुनी व्यवस्था छ। त्यसैले राजपा, नेपाल एक वर्षसम्म कसैले दर्ता गरेनन्।
तत्कालीन राजपा, नेपाल र समाजवादीबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन भएको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराएको एक वर्ष पुगेको छ। नागरिक दैनिकबाट