महामारीलाई राजनीतिकरण नगर्न चिनियाँ राष्ट्रपति सीकाे आग्रह

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड– १९ का विषयमा ‘केही मुलुक’ले राजनीति गरेको बताउँदै राजनीतीकरणविरुद्ध आवाज उठाउन आह्वान गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी एक शताब्दी पुगेको अवसरमा विश्वका राजनीतिक पार्टीका नेताहरूको भर्चुअल शिखर सम्मेलनमा बोल्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिवसमेत रहेका सीले कोरोना भाइरसलाई चीनसँग जोडेर टीका–टिप्पणी भएकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

विश्वका १ सय ६० वटाभन्दा धेरै मुलुकका राजनीतिक पार्टी र राजनीतिक संगठनका ५ सय बढी नेता तथा १० हजारभन्दा बढी राजनीतिज्ञ सहभागीलाई सम्बोधन गर्दै राष्ट्रपति सीले गरिबी निवारणमा चिनियाँ अनुभव सुनाएका थिए । उनले गरिवी निवारणका क्षेत्रमा विश्वले चिनियाँ अनुभवबाट सिक्न सक्ने भन्दै विश्वमा जनताको हितमा एकताबद्ध हुन सबैलाई आह्वान पनि गरे ।

‘अहिलेको प्राथमिकता जनताको सुरक्षा, अर्थतन्त्रको पुनर्जीवन हो भन्नेमा शंका छैन,’ राष्ट्रपति सीले भने, ‘अहिलेको महामारीलाई हामीले सहकार्यमार्फत पार लगाउनुपर्नेछ । तपाईंहरू सबैसँग हातेमालो गर्न हामी तयार छौँ ।’

उनले राजनीतिक दलहरूले जनताको आवाज सुनेर समस्या समाधानमा जोड दिनुपर्ने बताए । राष्ट्रपति सीले सुशासन सुधार र जिम्मेवारी वहन गर्दै जनतालाई खुसी बनाउनेमा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

सम्मेलनमा नेपालको तर्फबाट नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी एकता केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालगायत सभागी भए पनि सम्बाेधन गर्न पाएनन् । स्वास्थ्यको कारण देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा भने सम्मेलनमा सहभागी नभएकाे नेता नारायण खड्काले बताए ।

सम्बाेधन गर्न नपाएपछि नेपालका शीर्ष नेताहरूले भिडियो सन्देश पठाएका छन् र त्यसलाई चिनियाँ कम्युनिस्ट पार्टीले वेबसाइटमा राख्ने जनाएकाे छ । नेता खड्काले समय मिलेमा हरेक शीर्ष नेपाली नेताले पाँच मिनेट सम्बाेधन गर्ने बताइए पनि बोल्ने कार्यक्रम नभएपछि सन्देश पठाइएको हो ।

सम्मेलनमा दक्षिण एसियाबाट पाकिस्तानका प्रधानमन्त्री इमरान खान र श्रीलंकाका प्रधानमन्त्री महिदा राजापाक्षेले मात्रै सम्मेलनमा सम्बोधन गर्ने अवसर पाएका छन् ।दक्षिण अफ्रिका, क्युबा, बोलिभिया, प्यालेस्टाइन, मोरक्को, भियतनामलगायतका नेताले सम्बोधन गर्ने अवसर पाएका थिए ।

याे पनि,

चिनियाँ कम्युनिस्ट पार्टी तथा विश्वका राजनीतिक पार्टीहरूको सम्मेलन(फोटोफिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *