असारे भेलसँगै बग्दै विकास खर्च

काठमाडौं । विगत वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलसँगै बग्नेक्रमले निरन्तरता पाएको छ । चालू आर्थिक वर्ष २०७७-७८ सकिन अब जम्मा १७ दिन मात्र बाँकी छ । चालू आव समाप्ति हुने अन्तिम समयमा आएर निकै तीव्रताका साथ विकास खर्च गर्न थालेको सरकारले असार महिनाको १३ गतेसम्म १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ मात्र पुँजीगत (विकास) खर्च गरेको छ ।

यो चालू आवका लागि कुल विनियोजित बजेटको जम्मा ४४ दशमलव ८८ प्रतिशत मात्र विकास खर्च हो । सरकारको यस्तो कमजोर कार्यशैलीअनुसार आर्थिक वर्ष समाप्ति हुने अबको १७ दिनमा कुल विनियोजित बजेटको लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि कोरोना महामारीले समयमा काम नसकिएको बहाना बनाउँदै आएको सरकारले आगामी १७ दिनभित्र कुल विनियोजित विकास बजेटको लक्ष्य भेटाउन अझै ५५ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्तिको अन्तिम महिना असारे वर्षा र भेल बाढीको कुनै प्रवाह नगरी विकासे खर्चको दबाबमा परेको सरकारले हाल दैनिक अर्बौं रुपैयाँ बजेट हतारमा कमसल काम गरेर वर्षाको भेलसँगै त्यसै बगाइरहेको छ ।

चालू आवको अन्त्यतिर आएर हतारमा ह्वात्तै खर्च बढाउन कसिएको सरकारले अहिले १३ असारको दिन आइतबार एकदिनमा मात्र १७ अर्ब १ करोड ५० लाख रुपैयाँ विकास खर्च गरेको छ । गत १२ असारको दिन शनिबारसम्म जम्मा १ खर्ब ५६ अर्ब ६६ करोड ११ लाख रुपैयाँ मात्र पुँजीगत खर्च गरेको सरकारले आइतबार एकदिनमै १७ अर्ब १ करोड ५० लाख रुपैयाँको विकास खर्च सिध्याएर १३ असारसम्म १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ पु¥याएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष समाप्तिको अन्तिम समयमा आएर हतारमा विकास खर्च बढाउन हाल दैनिक अबौं रुपैयाँ पुँजीगत खर्च हुने गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको अन्तिम महिना असार लागे यताको दुई साताको अवधिमा पुँजीगत (विकास ) खर्च २९ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ भएको छ । हालसम्म चालू आवका लागि विनियोजित कुल पुँजीगत खर्च लक्ष्यको जम्मा ४४ दशमलव ८८ प्रतिशत मात्रै खर्च भएको समाचार राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *