पहिरोले बागलुङको निसीखोलाका २६० घर स्थान्तरण गर्नुपर्ने अवस्थामा

गलकोट । पहिरोको बीचमा रहेको निसीखोला गाउँपालिकाका आधार दर्जन बस्तीका २६० घर स्थान्तरण गर्नुपर्ने अवस्थामा रहेका छन् । बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर १ मा पर्ने हुल्दी गाउँको जमिन पहिराले चिरा चिरा परेपनि स्थानीयले घर छोड्न सकेका छैनन् ।

गत वर्ष ठूलो पहिरो आएपछि अध्ययनका लागि आएको भूगर्भविदको समूहले गाउँमा बस्न जोखिम भएको भन्दै बस्ती स्थान्तरण गर्नुपर्ने बताएका थिए । हुल्दी गाउँसँगै देविस्थानको खारा बजार, खाडु बजार, धाराखर्क खग्रेनी, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ ।

निसीखोला गाउँपालिकामा हाल सम्म २ सय ८२ घर परिवार पहिराले विस्थापित बनेका छन् जसमध्ये २ सय ६० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए ।

वडा नम्बर १ को देविस्थान खारा बजारका ४१, हुल्दी गाउँका १००, वडा नम्बर २ खाडुका ११, वडा नम्बर २ कै काँडा, किटेनी र बाहुनगाउँका ६०, वडा नम्बर ३ धाराखर्क खग्रेनीका ४८ घर स्थान्तरण गर्नु पर्ने अवस्थामा रहेको गाउँपालिकाले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ ।

वडा नम्बर ४ का ३, वडा नम्बर ५ का ८, वडा नम्बर ६ का ४ र वडा नम्बर ७ मा ७ वटा घर पहिराको उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । ती घरहरुलाई ग्याबिन निर्माण तथा अन्य व्यवस्थापन गरेर सुरक्षित गर्न सकिने विकल्प भने छ ।

“यहाँका वासिन्दाले पानी पर्दा जाग्रम बस्नुपर्ने अवस्था रहेको छ”, गौतमले भने, “वस्ती स्थान्तरण गर्नुपर्ने अवस्थाका भएपनि वैकल्पिक स्थान नहुँदा जोखिमका स्थानीयहरु घर छोड्न सकेका छैनन् ।”

पहिरोका कारण आफूसहित एक सय परिवारको उठिवास लागेको निसीखोला गाउँपालिका वडा नम्बर १ हुल्दी गाउँका पहिरो पीडित पवनकुमार सिञ्जालीले दुखेसो गरे । जोखिममा रहेका बस्तीलाई व्यवस्थापनका लागि गाउँपालिकाले केन्द्र सरकारसँग आग्रह गरेपनि अहिलेसम्म काम हुन नसेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।

अध्यक्ष पौडेलले पहिराको उच्च जोखिममा रहेका उक्त बस्तीहरुको तथ्याङ्क सङ्कलन गरेर केन्द्रमा पठाएपनि अहिलेसम्म उनीहरुको व्यवस्थापन गर्न नसकिएको बताए ।

गाउँपालिकालाई बस्ती स्थान्तरणका लागि गाउँभन्दा तल्लो क्षेत्रमा जग्गा व्यवस्थापनमा समस्या भएको भन्दै माथिल्लो जङ्गल क्षेत्रभन्दा केही तल स्थानीय बस्न नरुचाएकाले झनै समस्या भएको अध्यक्ष पौडेल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *