गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।
एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ । विपक्षमा एमालेका २७ सांसद रहेका छन्। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ। जसका कारण सत्तापक्षलाई बहुमत पुर्याउन सहज हुनेछ ।
