रातभर राप्ती नदीको टापुमा जाग्राम

दाङ । लमही नगरपालिका–७ हस्नापुरका मन्सराम चौधरी मंगलबार बिहान १० बजे १८ वटा भैंसी चराउन राप्ती नदीको टापुमा पुगे । उनी राप्तीमा बढिरहेको भेल देखेर डराएका त थिए तर फर्किन चाहेनन् । राप्ती नदी उक्त घाँसे टापुलाई बीचमा पारेर दुईतिरबाट बग्छ । उनी जाँदा नदीको बहाव सानो थियो । तर अपराह्न ३ बजेतिर घरतर्फ फर्कन लाग्दा राप्तीको वारितिरको बहाव तर्नै नसकिने भइसकेको थियो । ‘दिउँसो ३ बजेतिर आउँदा वारितिरकोे बहाव तर्नै नसकिने भइसकेको थियो,’ मान्सरामले भने, ‘भैंसीले दुईपटकसम्म राप्तीको बहाव तर्न प्रयास गरे तर हच्किए ।’

मन्सरामसँगै लमही नगरपालिका र राजपुर गाउँपालिकाका भैंसी चराउन गएका अन्य तीनजना पनि त्यही टापुमा फसे । मन्सरामसँगै लमही नगरपालिका–२ का सावित्रा यादव र राधे यादव तथा राजपुर गाउँपालिका–३ का गणेश यादव पनि टापुमै भैँसी चराउन पुगेका थिए । उनीहरूले राप्तीको बहाव कम होला भन्ने आशा गरिरहे तर उनीहरूले सोचेजस्तो भएन ।

‘पानी घट्ला र घर जाउँला भनेर कुरिरह्यौं,’ मन्सरामले भने, ‘तर पानीको सतह झन्झन् बढिरह्यो ।’

झमक्क साँझ पर्दा पनि राप्ती नदी तर्न नसकिने अवस्था भएपछि उनीहरूले आफूहरू टापुमा अलपत्र परेको परिवार, छिमेकमा जानकारी गराए । उनीहरू फसेको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयले उद्धारको प्रयास थाल्यो । तर रात परिसकेकाले डुंगाबाट उनीहरूलाई उद्धार गर्न असहज भयो । ‘मंगलबार बेलुका चारजना राप्तीको टापुमा अलपत्र परेको भन्ने जानकारी पायौं,’ प्रजिअ दीर्घनारायण पौडेलले भने, ‘तर रात परिसकेकाले डुंगाबाट उद्धार गर्न सम्भव भएन ।’

रातभर पानी रोकिएन, बाढी पनि घटेन । मान्सरामसहित चारजना टापुमै अल्झिए । ‘भैँसी चराउन गएका बेला टापुमा सानो टहराजस्तो बनाएका थियौँ,’ मन्सरामले भने, ‘रातभर त्यही टहरामा बस्यौँ ।’ राप्तीको भेल बढेर टहरातिरै नजिकइरहेको थियो । उनीहरू बाढीले बगाउनेमा निश्चितजस्तै बनिसकेका थिए । सावित्रा डरले रातभर रोइरहिन् । ‘अब बाँचिन्छ जस्तो सोच्न छाडिसकेको थिएँ,’मन्सरामले भने, ‘रातभर भगवान् पुकार्दै बस्यौं, भोकनिद्रा त त्यसै हराइसकेको थियो ।’ उज्यालो भएसँगै बाँच्ने आशा बढेर आएको उनले बताए ।

टापुमा फसेको १७ घन्टापछि बिहान ७ बजेतिर उनीहरूको उद्धारका लागि सुरक्षाकर्मीको टोली राप्ती तीरमा पुग्यो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बुधबार बिहान डुंगामार्फत उनीहरूको उद्धार गरे । ‘बुधबार बिहान उद्धारपछि नयाँ जीवन पाएजस्तो अनुभूति भयो,’ मन्सरामले भने, ‘फर्केर आउने आशा राप्ती टापुमै मरिसकेको थियो ।’ राप्तीको बहाव नघटेका कारण टापुमै फसेका तीन दर्जनजति भैंसी अझै त्यही छन् । याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *