मनाङमा ५५ घर डुबानमा, एक हजार नागरिक विस्थापित

काठमाडाैँ । विभिन्न स्थानीय खोलामा उर्लिएको बाढी बस्तीमा पस्दा मनाङकाे चामे र नासोँ गाउँपालिकामा ठूलो क्षति भएको छ । कैयौँ घर डुबानमा परेका छन् भने भौतिक संरचनामा क्षति पुगेको छ । बाढीका कारण जिल्लाभर दुई सय घरका एक हजार नागरिक विस्थापित भएका छन् । अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो पनि खसेको छ ।

स्थानीय प्रशासनका अनुसार घट्टे र च्याट्टु खोलामा आएको बाढीले सदरमुकाम चामेमा ६ घर पूरै डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार ती घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीले चामे बजारमै रहेको हुलाक कार्यालयसमेत बगाएको छ । दुई खोलाका बीचमा रहेका निजी घरदेखि सरकारी कार्यालयहरू जोखिममा परेका छन् ।

नासोँ गाउँपालिका– १ तालगाउँमा ५० घर डुबानमा परेका छन् । त्यहाँ ६० घर छन् । चामे गाउँपालिका– ५ भक्तपुरमा मस्र्याङ्दीकै बाढी पस्दा पाँच घर डुबेका छन् । गाउँको आडैमा रहेको तातोपानी कुण्ड पनि बगाएको स्थानीय मेलिना गुरुङले बताइन् ।

बाढीले सदरमुकाम चामे गाउँपालिकाभित्रका करिब ७० घर र नासोँ गाउँपालिका– १ तालगाउँका ५० घरपरिवार विस्थापित भएका छन् । मस्र्याङ्दी नदीमा पानीको बहाव बढेर आएकाले बजारका तीन सय नागरिकलाई मनाङको कारागारको नवनिर्मित भवनमा सारिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । बाढीले चामे गाउँपालिका– १, तिमाङ खोलाको बेलिब्रिज बगाएको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । यसअघि १३ जेठमा तिमाङ छहराको काठेपुल बगाएको थियो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् पनि बगाएको छ ।

बाढीबाट विस्थापित तथा जोखिममा रहेका स्थानीयलाई चामे गाउँपालिका– ५ माडाकुनामा निर्माण गरिएको कारागारको नयाँ भवनमा सारिएको छ । गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चामे बजार, नयाँ बजार, तिमाङ र स्यार्कु क्षेत्रका बासिन्दालाई त्यहाँ राखिएको छ ।

चामेस्थित जिल्ला प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को कार्यालय बाढीको जोखिममा परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए । बाढीका कारण लमजुङ सदरमुकाम बेंसीसहर र चामेको सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकन्द्रबहादुर घलेले मनाङमा बाढीले पहिलोपटक यति धेरै घरमा क्षति पुर्‍याएको बताए । उनले भने, ‘जिल्लामा हिउँपहिरोका सानातिना घटना त भइरहन्थ्यो । तर, बाढीले क्षति पुर्‍याएको यो पहिलो घटना हो ।’ स्थानीय प्रशासन र गाउँपालिकाले विपत् प्रतिकार्य योजनासमेत बनाएको गाउँपालिकाका अध्यक्ष घलेले बताए ।

नासोँ गाउँपालिका– १ ताल गाउँकी विमला गुरुङले मस्र्याङ्दीमा पानीको बहाव बढेसँगै सोमबार रातिदेखि नै जाग्राम बसेको बताइन् । ‘मस्र्याङ्दीको छेउमै घर छ, कति वेला बाढी आएर लैजान्छ, ज्यादै डर भयो,’ सोमबार रातिदेखि जाग्राम बसेकी उनले भनिन् ।

तालगाउँका प्रभावितको उद्धार तथा राहतका लागि काठमाडौंबाट हेलिकोप्टर पठाउने गृह मन्त्रालयको तयारी भए पनि मौसमको खराबीका कारण नसकिएको मनाङका प्रतिनिधिसभा सांसद पाल्देन गुरुङले बताए ।

त्यस्तै, मंगलबार साँझ नारायणी नदीको जलसतहले खतराको स्तर पार गरेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । जलस्तर आठ मिटर पार गर्दा खतरास्तर नाघेको मानिने नारायणीमा मंगलबार साँझ ८ मिटर २६ सेन्टिमिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी तथा बागमतीको पश्चिमी भूभागमा अति ठूलो वर्षा भएको छ । देशभर वर्षा भइरहेको छ । बुधबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै ठूलो पानी पर्ने आकलन महाशाखाले गरेको छ । झरी पर्ने प्रणाली केही दिनमा पूर्वतिर सर्दै जाने प्रक्षेपण गरिएको छ ।

पछिल्लो २४ घन्टामा भैरहवा १३४.८, पोखरामा १८०.२, पाल्पाको तानसेनमा २०३ र चितवन २५२.८ मिलिमिटर वर्षा मापन गरिएको छ । ‘गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा व्यापक पानी परेको छ,’ बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीले भने, ‘पश्चिम राप्ती, बबई र तिनाउमा बुधबारसम्म जलसतह उच्च हुने देखिन्छ । यी क्षेत्रलाई क्रिटिकल रूपमा लिएका छौैँ ।’

सुरुवातमै मनसुन सक्रिय बनेसँगै झरीका कारण बाढीपहिरो जान थालेको छ । २८ जेठयता मात्र डेढ दर्जन जिल्लाका पहिरो गएको छ भने आधा दर्जन जिल्लामा बाढी आएको छ । पछिल्ला दिनमा रसुवा, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान, कालिकोट, बाजुरा, अछाम, बैतडी र दार्चुलामा पहिरो गएको छ । मनाङ, मुस्ताङ र दैलेखमा बाढीले क्षति पुर्‍याएको छ ।

निरन्तरको झरीले भिरालो जमिन गल्दा पहिरोको जोखिम झनै बढाएको जलस्रोतविज्ञ भण्डारीले बताए । ‘मझौला र साना नदीमा बाढीको जोखिम छ । पहाडी भूभागमा पहिरो जाने क्रम बढेको छ,’ उनले भने, ‘चुरेबाट बग्ने खोलामा आकस्मिक बाढीको त्रास पनि उत्तिकै छ । पश्चिम राप्ती र बबाई मझौला नदी हुन् । यी नदीमा बुधबार बाढी आउने सम्भावना रहेको उनले बताए ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले देशैभर बाढीपहिरोको जोखिम रहेकाले जिल्ला विपत् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, स्थानीय स्वंयसेवक परिचालन गरिएको र रेस्पोन्स टिम पनि बनाइएको बताएकाे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *