मेलम्ची ।अबिरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्चीमा आएको भिषण बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाउँदा कम्तीमा ७ जना बेपत्ता भएको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रआसपासका स्थानीयलाई बाढीले बगाएको हाे ।
हेलम्बु गाउँपालिका १ नाकोते नजिकैबाट मंगलबार बेलुकी पहिरो गएपछि नदी थुनिएको र खोलाको वहाव समेत बढेपछि मेलम्ची खोला एक्कासी उर्लेको थियाे । रातिको समय भएकाले उद्धारका लागि सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले भने, ‘हामीले सबैलाई सुरक्षती रहन मात्रै भनेका छौ,अहिले जान सक्ने अवस्था छैन ।’
मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको मेलम्ची नदीले हेलम्बु २ तिम्बु, किउल, चनौटे, ग्याल्थुम र मेलम्ची आसपासका ट्राउट फर्म रिसोर्टसहित केही घर पनि बगाएको छ ।
स्थानीयका अनुसार बाढीले जताततै पुल सडक बगाएको छ भने मेलम्चीको सिटी पार्क, आमाह्यल्मो बसपार्क बगाएको छ । मेलम्चीको झोलुङ्गे र पक्की पुलमा बाढी पसेको छ । मानवीय क्षति निकै भएको स्थानीयले अनुमान गरेका छन् । लार्केमा खसेको पहिरोका कारण नदीको बहाव तिपेनी बजारमा पसेको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रमा भीषण बाढी आइरहेको छ ।
सिन्धुपाल्चोक
मेलम्चीमा बाढी, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले बगाउँदा मंगलबार साँझ कम्तीमा सातजना सम्पर्कविहीन
मनाङ
नासो गाउँपालिका–१ तालगाउँका ५० घर डुबानमा, त्यस्तै घट्टेखोला र च्याट्टु खोलामा आएको बाढीले सदरमुकाम चामेका ६ घर पनि डुबे, जिल्ला हुलाक कार्यालय बग्यो, जिल्लामा दुई सय परिवारका हजार सर्वसाधारण विस्थापित
बाजुरा
बडिगार्ड खोलामा बाढी आउँदा एक महिला र किमनी खोलामा बाढी आउँदा १२ वर्षीय बालक बेपत्ता
गोरखा
ठोट्नी खोलामा बाढी आउँदा आरुघाट गाउँपालिका–२ ढोडेनीनिवासी गोविन्द चौधरी बेपत्ता
चितवन
नारायणी नदीमा पानीको सतहले खतराको स्तर (आठ मिटर) नाघ्यो, गण्डक ब्यारेजका सबै ३६ ढोका खोलिए
लमजुङ
अपर दोर्दी जलविद्युत् आयोजनाको ड्याम क्षतिग्रस्त, उदीपुरस्थित हिमालयन जलविद्युत्को पावर हाउस पनि जोखिममा
