काठमाडौं । केही दिनदेखि देशका विभिन्न स्थानमा परेको अबिरल वर्षाका कारण बाढी पहिरो गएको छ । जसका कारण कतै पुल बगाएको छ भने कतै पहिरो गएर सडक अवरुद्ध भएका छन् । त्यस्तै बाढी पहिरोले बस्ती जोखिममा परेका छन् भने कतै जलविद्युत आयोजनासमेत बगाएको छ ।
लेदोसहितको बाढीले मुस्ताङमा १५ घर उच्च जोखिममा
मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् ।
लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको बाढी आएको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । ‘‘माथितिर जमेर बसेको हिउँ हुन्छ । त्यही हिउँ पग्लने र एकैचोटी ठूलो पानी पर्दा बाढी आएको हो’’, उनले भने । अहिले सो क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ ।
खोलामा बाढी आएको जानकारीपछि जिल्लाका सुरक्षा निकायबाट उक्त क्षेत्रको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिमपहिरोको सम्भावना भएको बताइन् ।
बाढीले बेँसीशहर—चामे सडक अवरुद्ध
आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार मस्र्याङ्दी नदीले सडक भासिएको छ भने सडक माथि भीरबाट ठूलाठूला ढुङ्गासहितको पहिराले सडक भासिन पुग्दा सडक अवरुद्ध भइरहेको छ । यहाँ करीब ३० मिटर सडक नै भासिएको छ । सडक अवरुद्ध भएपछि निषेधाज्ञाका बेला सञ्चालन हुने अत्याश्यक ढुवानीका साधन तथा सवारी साधन रोकिनु पर्ने भएको छ ।
त्यस्तै मस्र्याङ्दी गाउँपालिका—४ रामबजारमा रहेको बाघेता युवा क्लवको खेल मैदान मस्र्याङ्दी नदीले बगाएको छ । क्लबका अध्यक्ष विष्णु गुरुङका अनुसार नदीमा पानीको बहाव वृद्धि हुँदा १० मिटर जति खेलमैदान बगाएको र अझै खेल मैदान बगाउने क्रम जारी रहेको छ । खेल मैदान यसै वर्ष गण्डकी प्रदेश सरकारको २० लाख र मस्र्याङ्दी गाउँपालिकाको पाँच लाख गरी २५ लाखमा निर्माण गरिएको थियो ।
त्यस्तै, सोही वडाको जगतमा चन्द्रबहादुर गुरुङको बङ्गुर फार्मसहित ५०÷ ५० किलोको दुई वटा बङ्गुर बगाएको वडाध्यक्ष सुमन गुरुङको भनाइ छ । निरन्तर परेको पानीले विभिन्न स्थानबाट बाढी आउनुका साथै मस्र्याङ्दी नदीलगायत खोलाहरुमा पानीको बहाव बढिरहेकाले अझै क्षति हुन सक्ने वडाध्यक्ष गुरुङको भनाइ छ । उनले भने, “भौतिक क्षति भएपनि हालसम्म मानवीय क्षति भने हुन पाएको छैन ।”
यस सडकखण्डमा पर्ने सोही वडाको रामबजार पनि बाढीले केही घरहरु उच्च जोखिममा परेको वडाध्यक्ष गुरुङले बताए । यहाँ विसं २०७५ मा पनि केही स्थानीयवासीलाई बाढीले बगाएको थियो भने घरहरुमा क्षति पुगेको थियो ।
त्यस्तै, बेँसीशहर चामे सडकखण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका र चामे गाउँपालिका जोड्ने तिमाङ खोलामा रहेको बेली बिज्र समेत बगाएको मनाङबाट सुरेन्द्र बरालले जानकारी दिए ।
उनले भने, “साथै धारापानीको केही घरमा क्षति पुगेको छ भने, नासोँ गाउँपालिका—१ स्थित ताल बजारमा रहेको सबै घरहरु उच्च जोखिम बनाएको छ ।” त्यहाँ रहेका सबै घरहरु मस्र्याङ्दी नदीले डुबाउन सक्ने खतरा बढेकाले त्यहाँका स्थानीहरुको उद्धार भइरहेको उनले बताए ।
दोर्दी खोलाको बाढी सुपरदोर्दी ‘ख’ आयोजना पस्यो
पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट जलविद्युत् आयोजनामा दोर्दी खोलामा आएको बाढी पसेको छ । केही दिनबाट निरन्तर परेको पानीले आज बिहान दोर्दी खोलामा बाढी आउँदा यस आयोजनाको बाँधस्थल भरिएर आयोजनाको सुरुङ, पार्किङ स्थललगायतका स्थानमा बाढी पसेको हो ।
आयोजनाको मुख्य सिरुङमा बाढी पस्न थालेसँगै सुरुङभित्र काम गर्दै गरेका ५०÷६० जना कामदारको सहकुशल उद्धार गर्न सफल भएको आयोजनाले जनाएको छ । आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलका अनुसार आयोजनाको विभिन्न भागमा दोर्दी खोलामा आएको बाढी छिरेको छ । हालसम्म आयोजनामा रहेको एउटा ट्याक्टर, पम मेशिनलगायतका सामग्री बाढीले बगाएको उनको भनाइ छ ।
हामी यतिबेला आयोजनाको अन्य संरचना तथा सामग्री एवं यहाँका कर्मचारीहरु जोगाउन तयारीमा लागेकाले अरु के कति सामग्रीमा क्षति पुगेको छ भन्ने विस्तृत विवरण आउन बाँकी रहेको आयोजनाका साइट इन्चार्ज सिग्देलले बताए । यतिबेला दोर्दी खोलामा यसअघि २०७६ साउन ८ गते क्षति बनाउने गरेर आएको बाढीभन्दा ठूलो आएको छ । त्यति बेला समेत यस आयोजनामा करीब १० करोडको क्षति भएको बताइएको छ ।
त्यस्तै, खोलामा बाढी ठूलो आउने क्रम जारी रहेको र बाढीले बाँघ स्थलमा रहेको सिमेन्ट बालुवा खोल्ने ब्याटिङ प्लान्ट बगाउन लागेको आयोजनाका लेखा अधिकृत रामबहादुर काफ्लेले बताए । खोलामा असामान्य बाढी आएकाले अझै आयोजनामा क्षति हुन सक्ने उनको भनाइ छ । यस आयोजनामा बाढी पसेसँगै सबै निर्माणका कार्य राकिएको आयोजनाले जनाएको छ ।
कूल आठ अर्ब ८० करोड रुपैयाँको लगानी रहेको यस आयाजना अन्तिम चरणमा पुगेको छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी हुँदै पटकपटक म्याद थप गर्दै अघि बढिरहेको छ ।
तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध
लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रबेणी सडक अवरुद्ध भएको छ । तम्घास–रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका—१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । त्यसैगरी गुल्मीकै रिडी–रुद्रबेणी सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका—२ साँघुरेमा मंगलबार बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि सडक पनि अवरुद्ध भएको छ ।
अवरुद्ध सडक खुलाउनका लागि स्थानीय नगरपालिका र गाउँपालिकाले पहल गरे पनि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या परेको रेसुङ्गा नगरपालिका—१३ का वडाध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिए । बिहानैदेखि सडक अवरुद्ध बनेपछि एम्बुलेन्स, निर्माण सामग्री, दूध र खाद्यान्न ओसारपसार गर्ने यातायातका साधनहरु बीच बाटोमै रोकिएका छन् ।
लगातार वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारा र पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई सर्तक रहन र सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गरेको छ । वर्षाका कारण ठाउँठाउँमा ससाना पहिरो खसेको र सडक भत्किएका कारण जिल्लाको इन्द्रेगौंडा–वामीटम्सार, रुद्रबेणी–पुर्तिघाटलगायत एक दर्जनभन्दा बढी सडकहरु समेत अवरुद्ध छन ।
अबिरल वर्षापछि राजमार्ग तथा विद्युत् आयोजना अवरुद्ध
अबिरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको हो ।
राजमार्गको बार्जुगाडदेखि मार्तडीका विभिन्न ठाउँमा पहिरो आएपछि अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनका अनुसार बार्जुगाडको खोलादेखि मार्तडीसम्म पहिरो आउने क्रम नरोकिएकाले राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको अम्कोटमा बढी पहिरो बग्न थालेपछि अन्य क्षेत्रभन्दा जोखिम रहेको छ ।
उनले दिएको जानकारी अनुसार सडक विभागलाई राजमार्गमा आएको पहिरो स्काइभेटर लगाएर पन्छ्याउन लगाएपनि वर्षा नरोकिएकाले बाटो खुलाउन सकिएको छैन ।
बार्जुगाड, बल्दे, अम्कोट, पानीनाउलालगायतका पाँच ठाउँमा पहिरो बग्न नरोकिएकाले राजमार्ग खोल्न तत्काल सम्भव देखिएको छैन । माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल राजमार्ग खुलाउन कठिनाइ भएको प्रजिअ अधिकारीको भनाइ रहेको छ ।
जिल्लाका लागि धनगढीबाट खाद्यान्न लिएर आएका ट्रक र ट्याक्टरहरु बेतालमाडौंँमा रोकिएका छन् । राजमार्ग अवरुद्ध भएपछि बिरामीलाई जिल्ला बाहिर लैजान थप समस्या हुने भएको छ भने जिल्लामा खाद्यान्न समेत अभाव हुने देखिन्छ ।
यसैगरी जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पनि अवरुद्ध भएको छ । लगातारको वर्षासँगै बाउली खोला र अनै खोलामा पानीको बहाब बढेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मार्तडी–कोल्टी सडकका विभिन्न ठाउँहरुमा पनि स–साना पहिरो खस्ने गरेकाले उक्त क्षेत्रको सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
मार्तडी घटमुना जोड्ने सडक पनि अबिरल वर्षाका कारण अवरुद्ध बनेको छ । बाउली खोलामा पानीको बहाब बढेको र उक्त सडकको विभिन्न ठाउँमा स—साना पहिरो खस्ने गरेकाले सडक अवरुद्ध बनेको हो । गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्म जोडिएको उक्त सडकसँगै जिल्लाका अन्य ग्रामीण सडक समेत अवरुद्ध बनेका छन् ।
नहरमा बालुवा भरिँदा विद्युत् सेवा अनियमित
जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन अनियमित हुन थालेको छ । विद्युतको नहरमा बालुवा थुप्रिदै गएपछि विद्युत् सेवा अनियमित हुनुको साथै अवरुद्ध हुने गरेको साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए ।
उनका अनुसार विद्युत् सञ्चालनका लागि ल्याएको बाउली खोलामा पानीको बहाब बढ्दै गएकोले नहरमा बालुवा भरिने गरेकाले विद्युत् अवरुद्ध हुने गरेको छ । खोलामा बाँध नबाँधिएकाले अहिले पानीको बहाब बढ्न थालेपछि नहरमा गएर पानी फर्काउने अवस्था नहुँदा विद्युत् अवरुद्ध बनेको व्यवस्थापक पण्डितको भनाइ छ ।
जिल्लामा रहेको एक मात्र साना जलविद्युत् केन्द्र अवरुद्ध हुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । बालुवा हटाउनका लागि दैनिक रुपमा नहरमा कर्मचारी खटाइए पनि बाढी बढी आउने गरेकाले सम्भव नभएको पण्डित बताउनुहुन्छ । तत्काल नहरको बाँध बनाउन सक्ने अवस्था नभएकाले असार र साउन महिनासम्म विद्युत् सेवा अनियमित हुने बताइएको छ । नियमित रुपमा विद्युत् आपूर्ति नहुँदा सर्वसाधारणलाई समस्या हुनुको साथै यहाँका रेडियो, अनलाइन र दैनिक कार्यालयको कामकाज समेत प्रभावित बन्न पुगेको छ ।
