जसपाका दुबै पक्षलाई राजनीतिक दलसम्बन्धी अनुसूची १८ बमोजिमको ढाँचामा कागजात पेस गर्न आयोगको पत्र

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर भएको निर्णयको प्रतिलिपी पेस गर्न पत्र पठाएको छ ।

अध्यक्ष ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको भनेर आयोगलाई पत्र पठाएकोमा आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर भएको निर्णयको प्रतिलिपी पठाउन भनेर पत्र लेखेको हो । केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर नभएको पत्र लेखेर आयोगलाई पार्टीको कागजात अद्यावधिक गर्न आग्रह गरेका थिए ।

आयोगले पत्र अपुरो रहेको भन्दै बुधबार ठाकुरलाई पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा कागजात पेस गर्न पनि पत्र काटेको छ ।

दलको विवरण हेरफेर गर्नुपर्ने भएमा उक्त ढाँचाअनुसार निर्वाचन आयोगमा लेखि पठाउनुपर्ने व्यवस्था अनुसूची १८ मा छ । यादव पक्षले पार्टीबाट अध्यक्ष महन्थ ठाकुर तथा नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएको थियो ।

यादव पक्षले केन्द्रीय कार्यकारिणीको २७ जनाको हस्ताक्षर सहित उक्त निर्णय लिइएको भनेर आयोगलाई लेखी पठाएको थियो । जसपाको ठाकुर पक्ष प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने तयारीमा रहेको छ । यादव पक्ष भने ओली बहिर्गनको पक्षमा छ । जसका कारण जसपा फुटको संघारमा पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *