लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि मतदान हुँदै

दाङ । लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज मतदान हुँदैछ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुँदैछ ।

कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा निर्वाचनका लागि तीनवटा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिए । उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउनका लागि प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाइएको छ ।

उनका अनुसार तीनवटा मतदान केन्द्रहरु मध्ये मतदान केन्द्र ‘क’ मा प्रदेश सभा सदस्यहरु, मतदान केन्द्र ‘ख’मा पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र मतदान केन्द्र ‘ग’मा कोरोना संक्रमण पोजिटिभ देखिएका मतदाताहरूका लागि छुट्याइएको छ । मतदानका लागि बिहान ९ बजेदेखि ३ बजेसम्म समय निर्धारण गरिएको छ ।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा नेकपा एमालेले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवार बनाएको छ । त्यसैगरी विपक्षी गठबन्धनका तर्फबाट कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ ।

खड्कालाई नेकपा एमालेको ओली समूहसहित जनता समाजवादीको ठाकुर/महत्तो समूहको समर्थन छ । पाण्डेलाई कांग्रेससहित माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ तर एमाले विभाजित भएकाले नेपाल पक्षको मत विपक्षी उम्मेदवारलाई जान सक्ने सम्भावना छ । निर्वाचनमा लुम्बिनी प्रदेशसभाका ७९ जना सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २ सय १७ मतदाता छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *