कोरोनाले छुटायो तिब्बतसँगकाे व्यापार, राेजगारी

बझाङ । एक समय थियो, चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट वर्षातको समयमा सातु लिएर भोट जान्थे र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किन्थे । समयक्रमसँगै ताक्लाकोटसँगको यो सम्बन्ध नुन र ऊनमा मात्र सीमित रहेन । पश्चिम नेपालका हिमाली जिल्ला बझाङ, दार्चुला, बाजुरा र हुम्लाका स्थानीयका लागि दैनिक ज्यालादारीको काम, खाद्यान्न र तरकारीलगायत दैनिक उपभोगका सामग्रीदेखि लत्ताकपडा र ठूला–ठूला व्यापार–व्यवसायका लागि पनि तिब्बत रोजगारीको आकर्षक गन्तव्य बन्दै गएको छ ।

चीनको ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करिब २ सय नेपाली व्यवसायी छन् । ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामानहरूको व्यापार गर्दै आएका छन् ।

यस्तै मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य सामानहरू पनि चौंरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेका छन् । कोही आफैं त कोही भेडाच्याङ्ग्रा र चौंरीमार्फत भारी बोकेर राम्रै आम्दानी गरिरहेका थिए । तर, कोरोना कहरसँगै तिब्बतको ताक्लाकोट बजार बन्द भएपछि उनीहरूको रोजगारी खोसिएको छ ।

बझाङको साइपाल गाउँपालिका–२, धलौनका मिलन धामी वैशाखको अन्तिम सातातिर आफ्ना साथीहरूका साथ कामका लागि तिब्बततिर जान्थे । यो समयमा उनलाई काम गर्न भ्याइनभ्याइ हुन्थ्यो । तर दुई वर्ष भयो, कोरोनाका कारण चीन सरकारले नेपालीहरूको प्रवेशमा रोक लगाएपछि जान पाएका छैनन् ।

तिब्बतमा गरेको कमाइले परिवार पाल्ने गरेका धामी तिब्बतको रोजगारी गुमेपछि यार्सागुम्बा तथा जडीबुटी संकलन गरिरहेका छन् । तिब्बतस्थित पुराङ जिल्लामा बर्खाभरि मालवाहक गाडी लोड–अनलोड गर्ने, ऊन केलाउने, भारी बोक्ने, इँटा बनाउने काम गर्दै आएका धामीले महिनामा ८० हजारभन्दा बढी नेपाली रुपैयाँ कमाउने गर्थे ।

तिब्बतमा ज्याला मजदुरीको काम गर्दा दैनिक १ सय २० देखि १ सय ५० युआन (करिब १९ सयदेखि २५ सय नेपाली रुपैयाँ) भन्दा बढी कमाइ हुन्छ । तर, विश्वभर महामारीका रूपमा फैलिएको कोरोना महामारीका कारण उनको रोजगारी खोसिएको छ ।

उनले भने, “भन्सारमा भारी वारपार गर्नेदेखि उच्च हिमालमा फल्ने बाली जौ काट्ने र चुट्ने काम पाइन्थ्यो । चार महिनाको अवधिमा आफ्नो खर्च कटाएर प्रतिव्यक्ति ५ लाखसम्म कमाइ हुन्थ्यो । चार वर्षदेखि वर्षाको समयमा ताक्लाकोट जाने गरेका थियौं । गत वर्षबाट फैलिएको कोरोना महामारीका कारण चीन सरकारले प्रवेश निषेध गरेपछि जान पाएका छैनौं ।”

हुम्लाको सर्किगाड गाउँपालिका–२ का भक्ति बूढाका ३ सयभन्दा बढी भेडाच्याङ्ग्रा छन् । उनी नेपालबाट ताक्लाकोटमा व्यवसाय गर्दै आएका नेपाली व्यापारीका सामान भेडाच्याङ्ग्रामार्फत ताक्लाकोटसम्म ढुवानी गरिदिन्छन् ।

भेडाच्याङ्ग्रामार्फत मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य सामानहरू ताक्लाकोटमा पुर्याउँदै आएका बूढासँग ताक्लाकोटमा राम्रै कमाइ हुने गरेको अनुभव छ । उनले भने, “भेडाच्याङ्ग्रामार्फत ताक्लाकोट सामान पुर्याउन आठ दिनसम्म लाग्छ । एकचोटि ताक्लाकोट सामान पुर्याउन सके १ लाखभन्दा बढी बचत हुन्छ । ताक्लाकोटबाट पनि नेपालतिर सामान ल्याउन पाए राम्रै कमाइ हुन्छ । तिब्बततिर कमाइ राम्रो हुन थालेपछि दुई जना भेडाच्याङ्ग्रा हेरालु पनि राखें । तर, गत वर्षबाट कोरोना महामारीका कारण भएको लकडाउनले ताक्लाकोट जान पाएको छैन । अझैसम्म ताक्लाकोटमा नेपालीलाई प्रवेश नगर्दा हाम्रो त रोजगारी नै खोसिएको छ ।” ताक्लाकोट जान नपाएपछि भेडाबाख्रा चराउन र जडीबुटी संकलन गर्न साइपाल पुगेको उनी बताउँछन् ।

नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि सीमा क्षेत्रबाट ३० किलोमिटरसम्मको दूरीमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रवेश अनुमतिपत्रले प्रवेश गर्न पाइन्छ । प्रवेश सहज भएपछि सो क्षेत्रभित्र सयौंको संख्यामा नेपाली युवाहरूले काम गरिरहेका छन् । एक त भिसा लगाउनु नपर्ने र अर्को पैसा पनि खर्च नहुने हुँदा राम्रो कमाइ हुन्छ । मन लागेको बेला घर फर्किन सजिलो हुने र भिसाको पनि कुनै समस्या नहुने हुँदा खाडी मुलुकभन्दा ताक्लाकोट आकर्षण बढेको उनीहरूको भनाइ छ ।

विभिन्न भौतिक संरचना निर्माणको कामले तीव्रता पाएसँगै यो क्षेत्र सीमावर्ती जिल्लाका नेपालीहरूका लागि आकर्षक रोजगारीको गन्तव्य बन्दै गएको छ ।ताक्लाकोटलगायत नजिकैका लुक्पु, खोचेर, लुकोट आदि ठाउँमा नेपालीहरूले मजदुरीको काम गर्दै आएका छन् ।

स्थानीय प्रशासनले प्रत्येक तीन महिनामा नवीकरण गर्ने गरी दिइने कामदार अनुमतिपत्रको व्यवस्था सहज भएका कारण पनि सजिलो भएको नेपाली कामदारको भनाइ छ । भनेको काम गर्न मिल्ने र अरू देशजस्तो प्रक्रियागत अप्ठ्यारो पनि नहुने हुँदा सहज भएको हो ।

विभिन्न भौतिक संरचना निर्माणको कामले तीव्रता पाएसँगै यो क्षेत्र सीमावर्ती जिल्लाका नेपालीहरूका लागि आकर्षक रोजगारीको केन्द्रका रूपमा विकास भएको छ । नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि प्रवेश अनुमतिपत्रले सीमा क्षेत्रबाट ३० किलोमिटरसम्मको दूरीमा प्रवेश गर्न पाउने भएपछि सो क्षेत्रभित्र हजारौँ नेपाली युवाहरूले काम गरिरहेका छन् ।

सबैभन्दा बढी हुम्ला, दार्चुला र बझाङ जिल्लाबाट दक्ष र अदक्ष कामदारका रूपमा आउने गरेको पुराङ जिल्ला पब्लिक सेक्युरिटी ब्युरोले जनाएको समाचार काराेबार दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *