सामाजिक संस्थाले बनाएको आइसोलेसन केन्द्रमा रिबन काट्न पुगे उपप्रधानमन्त्री
काठमाडौँ । कोभिडविरुद्ध दुनियाँले संघर्ष थालेको १७ महिना भयो, नेपालले पनि तयारी थालेको १५ महिना भयो । कोभिड शीर्षकमा गत वर्ष १२ अर्ब खर्च गरेको सरकारले यो वर्षको बजेटमा पनि ६ अर्ब विनियोजन गरेको छ । पर्याप्त समय र स्रोत भएर पनि तयारीमा सरकार कति संवेदनशील थियो भन्ने बुधबारको एउटा तस्बिरले प्रस्ट पार्छ । राज्यको ढुकुटीको दुई अर्ब २६ करोड खर्च गरेर वीर अस्पतालमा ६ सय ५० बेडको अत्याधुनिक सर्जिकल भवन बनेको छ । शिक्षण अस्पतालमा पनि सुरेश वाग्ले स्मृति क्यान्सर भवनको नाममा दुई सय बेड क्षमताको अत्याधुनिक पूर्वाधार खडा भएको छ ।
वीरको नयाँ भवनमा दुई सय ७० र शिक्षणमा दुई सय बेड तत्कालै सञ्चालन गर्न सकिने भनेर स्वास्थ्य मन्त्रालयले प्रतिवेदनसमेत दिएको छ । बिरामीलाई भुइँमा राखेर उपचार गर्न बाध्य चिकित्सकहरूले पनि यी बेड सञ्चालन गर्न र त्यसका लागि अक्सिजन व्यवस्था गर्न सरकारलाई पटक–पटक अनुरोध गर्दै आएका छन् । तर, सरकारी पूर्वाधार अलपत्र नै राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार मारवाडी समाजले स्वतस्फुर्त तयार पारेको ५१ बेडको आइसोलेसन केन्द्र उद्घाटन गरेका छन् । स्मरणीय छ, कोभिड संकट व्यवस्थापन केन्द्रको संयोजक पोखरेल नै हुन् ।
३० अर्ब खर्च गरेर चुनाव गराउन तयार सरकारलाई भेन्टिलेटर, आइसियू, एचडियूको व्यवस्था गर्न बजेटको कुनै कमी थिएन । तर, अस्पतालमा जनरल बेडसमेत नपाएर बिरामी बेन्चमा, बरन्डामा, शवगृहको पेटीमा समेत पल्टिनुपर्ने अवस्था आएको छ । भेन्टिलेटर त परैको कुरा, अस्पतालको बेडसमेत नदेखी र अक्सिजनसमेत नपाई बिरामीको ज्यान गइरहेको समाचार तस्बिरसहित प्रकाशित भइरहेका छन् । तर, यो विषयमा गम्भीर रणनीति बनाउन सरकारले फेरि पनि ढिलाइ गरेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।