काठमाडाैँ । इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीच गत सातादेखि चलिरहेको द्वन्द्वका कारण दुवैतर्फ ठूलो जनधनको क्षति हुनपुगेको छ । प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले इजरायललाई लक्षित गर्दै ठूलो संख्यामा रकेट प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले निरन्तर हवाई तथा स्थल आक्रमण गरिरहेको छ । गत सोमबारयता दुईतर्फी आक्रमणमा परी एक सय ८४ जनाको ज्यान गइसकेको छ ।
गाजा क्षेत्रमा इजरायल सेनाले गरेको हवाई आक्रमणमा परी आइतबार साँझसम्म एक सय ७४ जनाको मृत्यु भएको छ । त्यसमध्ये ४७ जना बालबालिका र २९ जना महिला छन् । आक्रमणमा परी एक हजार दुई सय जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै विद्रोही हमास समूहको रकेट आक्रमणमा परी इजरायलमा १० जनाको मृत्यु भएको छ । तीमध्ये दुई बालबालिका छन् । इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाई हमलामा परी केही विद्रोही कमान्डर मारिएको दाबी गरेको छ । हवाई आक्रमणमा मिडिया कार्यालय रहेका भवन तथा अन्य ठूलाठूला संरचनासमेत ध्वस्त भएका छन् ।
द्वन्द्व चर्किदै जाँदा रोजगारी तथा अध्ययनको सिलसिलामा इजरायलमा रहेका नेपालीमा पनि त्रास बढेको छ । द्वन्द्वका कारण हालसम्म नेपाली समुदायमा मानवीय क्षति नभए पनि उनीहरूको बसोबास रहेको दक्षिण पश्चिम क्षेत्र तथा तेलवी क्षेत्रमा हमास समूहले निरन्तर आक्रमण गरिरहेको छ । ‘सन २०१४ मा दुई मुलुकबीच युद्ध हुँदा र त्यसभन्दा पहिले पनि यस क्षेत्रमा द्वन्द्वको प्रभाव परेको थिएन । तर अहिले प्यालेस्टाइन क्षेत्रबाट निरन्तर रकेट आक्रमण भइरहेको छ,’ इजरायलमा केयर गिभरका रूपमा कार्यरत काठमाडौंकी नितु खतिवडाले भनिन् । उनी एक दशकदेखि तेलवी क्षेत्रमा केयर गिभरका रूपमा काम गर्दै आएकी छन् । तेलवीलाई तुलनात्मक रूपमा सुरक्षित क्षेत्र मानिन्थ्यो । तर अहिले त्यहाँ पनि रकेट आक्रमण भइरहेको खतिवडाले बताइन् ।
‘अहिले यहाँ रहेका नेपालीमा त्रास छ । रकेट हमला हुँदैछ भनेर साइरन बज्न थालेपछि हतारहतार बंकरभित्र वा घरको ‘अन्डरग्राउन्ड’ मा गएर बस्छौं,’ उनले भनिन् । केही दिनअघि एक भारतीय केयर गिभर युवतीको रकेट आक्रमणमा परेर निधन भएपछि नेपाली समुदाय थप आत्तिएको खतिवडा बताउँछिन् । ‘हामी सकेसम्म सुरक्षित हुने प्रयासमा छौं तर कति बेला के हुन्छ, थाहा छैन,’ उनले भनिन् । उनले नेपाली दूतावास र अन्य नेपाली संघसंस्थाका प्रतिनिधिसँग सम्पर्कमा रहेको र आफूहरूको अवस्थाबारे जानकारी गराइरहेको बताइन् ।
इजरायलस्थित नेपाली दूतावासले त्यहाँको परिस्थितिलाई ध्यान दिँदै नेपाली समुदायलाई खुला ठाउँमा ननिस्कन र सुरक्षित रहन आग्रह गरेको छ । ‘हामीले विभिन्न माध्यमबाट तथा प्रत्यक्ष सम्पर्क गरेर नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरिरहेका छौं,’ इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले भनिन । बढी आक्रमण भइरहेको दक्षिण पश्चिम क्षेत्रमा नेपाली विद्यार्थीहरू रहेको र आफू उनीहरूसँग निरन्तर सम्पर्कमा रहेको शाक्यले जानकारी दिइन् ।
‘यहाँ द्वन्द्व सुरु हुनेबित्तिकै नेपाली विद्यार्थीले अध्ययन गर्ने पाँचवटै कलेजमा सम्पर्क गरेर उनीहरूको अवस्था बुझेकी थिएँ । हाल उनीहरूलाई सुरक्षित रूपमा बंकरमा राखिएको छ,’ उनले भनिन् । रोजगारीका लागि इजरायलमा रहेका नेपालीलाई पनि सुरक्षित रहन आग्र्र्रह गरेको शाक्यले जानकारी दिइन । ‘हालसम्म सबै नेपाली सुरक्षित हुनुहुन्छ । हामी निरन्तर उहाँहरूको सम्पर्कमा छौं,’ उनले भनिन् ।
राजदूत शाक्यले आफू इजरायल पुगेपछि पहिलो पटक यस्तो परिस्थिति सामना गर्नुपरेको बताइन । ‘यसअघि पनि द्वन्द्व हुने गरेको सुनेकी थिएँ । यसपटक आफैंले त्यो परिस्थिति भोगिरहेकी छु,’ उनले भनिन् । इजरायलमा रकेट आक्रमण हुनुभन्दा पहिले साइरनमार्फत पूर्व सूचना दिइने भएकाले साइरनको आवाज आउनेबित्तिकै सबैजना सुरक्षित ढंगले बंकरभित्र बस्ने गरेको उनले बताइन । इजरायलको हालको अवस्थाबारे जानकारी गराउँदै राजदूत शाक्यले भनिन्, ‘निरन्तर साइरनको आवाज बजिरहेको छ । आकाशभरि रकेट आक्रमणको दृश्य देख्न सकिन्छ । रकेट आक्रमणको आवाजले घरहरू भूकम्पले धक्का दिएजस्तै हल्लिरहेका छन् । कुनै चलचित्रमा देखाइने युद्धको दृश्यभन्दा कम छैन यहाँको अवस्था ।’
इजरायल सरकारले सुरक्षाको प्रत्याभूति दिइरहेकाले सबैले राहत महसुस गरिरहेको उनले बताइन । ‘यहाँको सरकारले तपाईंहरूको सुरक्षाको जिम्मा हामी लिन्छौं भनेको छ । त्यसैले यहाँ रहेका नेपाली समुदायले केही राहत महसुस गरिरहेका छौं,’ उनले भनिन् ।
पछिल्लो एक सातामा हमासलगायतका प्यालेस्टाइनी विद्रोही समूहले इजरायललाई लक्षित गर्दै दुुुर्र्ई हजारभन्दा बढी रकेट हमला गरेका छन् । त्यसमध्ये ९० प्रतिशतभन्दा धेरै रकेटलाई इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीले बीचमै नष्ट गरिदिएको छ । जसले गर्दा प्यालेस्टाइनको तुलनामा इजरायलतर्फ कम क्षति भएको छ । सन् २००६ मा लेबनानी विद्रोही समुह हजबुल्लासँग भएको द्वन्द्वमा उक्त समूहले इजरायलमा हजारौं रकेट आक्रमण गरेको थियो । त्यसले इजरायलमा ठूलो जनधनको क्षति पुगेको थियो । त्यसपछि इजरायलले आफूमाथि हुने रकट आक्रमण असफल बनाउन सन् २०११ मा अमेरिकाको सहयोगमा मिसाइल प्रतिरक्षा प्रणाली सञ्चालनमा ल्याएको याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।
