काठमाडौं । कोभिड १९ नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको अवधिमा करिब १४ हजार विदेशी नागरिक नेपालबाट बाहिरिएका छन् ।
लकडाउनका कारण हवाई सेवा बन्द भएपछि नेपालबाट यो संख्यामा विदेशी नागरिक आफ्नो मुलुक फर्केका छन् । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीकाअनुसार उनीहरूलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी आफ्नो मुलुक फर्काएको हो । लकडाउन यथावतै रहेको अवस्थामा व्यावसायिक उडान अझै सुरु हुन नसक्दा थप करिब १० हजार विदेशी नेपालमै अलपत्र छन् ।
यसबाहेक नेपाल भ्रमण वर्षको क्रममा नेपाल घुम्न आएका करिब १३ हजार पर्यटकमध्ये हालसम्म करिब १० हजार सम्बन्धित मुलुकमा फर्केको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बताए । अझै करिब १ हजार देखि १५ सय पर्यटक नेपालमा रहेको अनुमान बोर्डको छ ।
नेपालमा रहेका पर्यटकमध्ये कतिपय स्वेच्छाले नेपालमै बसेका छन् । कतिपय बाध्यताले बसेको रेग्मीले बताए । ‘सम्बन्धित मुलुकले समन्वय नगर्दा पनि उनीहरू फर्कन पाएका छैनन्, कतिपय भने आर्थिक अभावका कारण पनि यता छन्, व्यावसायिक उडान सुरु भएपछि उनीहरू फर्कने सम्भावना छ’, रेग्मीले भने ।
नेपालमा रहेका पर्यटक कहाँ कति संख्यामा छन्, त्यसको यकिन तथ्यांक तत्काल आउन नसक्ने रेग्मीको भनाइ छ । काठमाडौं र पोखरामा बढी पर्यटक रहेको अनुमान बोर्डको छ । अप्ठ्यारोमा परेका पर्यटकले जानकारी गराए खाना र बस्ने व्यवस्था बोर्डले गर्ने गरी सूचना जारी गरेको रेग्मीले जानकारी दिए ।
गत चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण नेपालमा अलपत्र परेका पर्यटक र विभिन्न कामको लागि नेपाल आएका विदेशी नागरिकको हकमा जरिवाना शुल्क नलाग्ने व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । पर्यटकको रूपमा नेपाल आएका तर, लकडाउनका बीच भिसाको म्याद सकिनेको हकमा जरिवाना वापतको कुनै पनि शुल्क तिर्नु नपर्ने विभागका महानिर्देशक केसीले भने ।
अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र त्यस्ता पर्यटक आफ्नो मुलुक फर्किसक्नुपर्ने व्यवस्था गरिएको छ । यही असार १३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको छ । पर्यटकबाहेक गैरपर्यटकको हकमा यो व्यवस्था लागु नहुने बताइएको छ ।
लकडाउन सुरु भएदेखि बन्द भएको अध्यागमन विभाग यही असार १ गतेदेखि पुनः सञ्चालनमा आएको छ। नेपालमा रहेका विदेशी नागरिक र पर्यटकको हकमा सामाजिक दुरी कायम गरी भिसाको म्याद थप्ने प्रक्रिया सुरु गरिएको केसीको भनाइ छ। असारको पहिलो सातासम्म करिब १ हजारको संख्यामा विदेशी नागरिकले भिसाको म्याद थप गराएका छ। यसबाट विभागले ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
यसमध्ये लकडाउनअघि नै भिसाको म्याद सकिएका तीन जना पर्यटक र बाँकी ७ सय जना गैरपर्यटकले भिसाको म्याद थप र भिसा परिवर्तनजस्ता काम गराएको आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।