चीनबाट २० लाख डोज खोप किन्न परराष्ट्रको पहल, स्वास्थ्य मन्त्रालयले दिएन चासो

काठमाडौँ । परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासमार्फत २० लाख डोज चिनियाँ खोप खरिदको पहल गरेको छ । खोप उत्पादक कम्पनी सिनोफार्मले जेठ दोस्रो सातासम्म पाँच लाख डोज खोप उपलब्ध गराउन सक्ने प्रतिबद्धता पनि जनाएको छ । तर, स्वास्थ्य मन्त्रालयले भने खोप खरिदका लागि चासो नै दिएको छैन ।

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले खोप खरिदका लागि निर्माता कम्पनीहरूसँग समन्वय गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिएको छ । सोहीअनुसार चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले सिनोफार्मका अधिकारीहरूसँग कुराकानी गर्दै आएका छन् ।

सिनोफार्मका अधिकारीहरूले सम्बन्धित नेपाली निकायसँग सम्झौता हुने वेलामा खोपको मूल्य, भुक्तानीको ढाँचा, आपूर्तिलगायतका विषयमा स्पष्ट पार्ने जानकारी दिएका छन्  । उनीहरूले राजदूत पाण्डेलाई बेइजिङ वा सिचुवान प्रान्तको राजधानी छेन्दुबाट नेपालले आफैँ ढुवानी गर्नुपर्ने बताएका छन् । खोप उपलब्ध हुने मितिभन्दा दुई साताअघि भुक्तानी गरिसक्नुपर्ने पनि उनीहरूको सर्त छ । नेपाली दूतावासले यी सबै विषय परराष्ट्र मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ । तर, स्वास्थ्यले प्रक्रिया नै सुरु गरेको छैन ।

‘स्वास्थ्य मन्त्रालयबाट खोप खरिदका लागि औपचारिक प्रक्रिया नै सुरुवात भएको छैन । सिनोफार्म र स्वास्थ्य मन्त्रालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि उसलाई भुक्तानी दिएको दुई सातामा खोप उपलब्ध गराउने जवाफ आएको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘तीन–चार दिनभित्रै सम्झौता भएन भने जेठ दोस्रो साता पाँच लाख डोज खोप पाउन गाह्रो हुन्छ । किनभने चिनियाँ खोप निर्मातासँग खोप किन्ने मुलुकहरूको सूची लामो छ ।’

बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले दूतावास र सिनोफार्म कम्पनीबीच निरन्तर संवाद भइरहेको बताए । ‘हामीले तत्कालै २० लाख डोज नभए पनि १० लाख डोज खोप उपलब्ध गराइदिन आग्रह गरेका थियौँ । तर, सिनोफार्मका अधिकारीहरूले सुरुमा पाँच लाख डोज खोप मेको अन्तिम सातासम्म र बाँकी खोप जुलाई पहिलो सातासम्म उपलब्ध गराउन सकिन्छ भनेका छन्,’ उनले भने, ‘बाँकी खोप (१५ लाख डोज) जुलाईको पहिलो साता (असार तेस्रो साता)सम्म उपलब्ध गराउन सकिने भन्ने आएको छ । तर, स्वास्थ्य मन्त्रालय र कम्पनीबीच सम्झौतामा हस्ताक्षर हुने वेलामा सबै विषय स्पष्ट हुन्छ ।’

परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि स्वास्थ्य मन्त्रालयले सिनोफार्मसँग पत्राचार नै नगरेको बताए । ‘खोप खरिदका लागि कूटनीतिक तहमा मात्रै कुराकानी भएको छ, स्वास्थ्य मन्त्रालयबाट सिनोफार्म कम्पनीलाई पत्राचार नै भएको छैन । स्वास्थ्य मन्त्रालयले तत्कालै प्रक्रिया अघि नबढाउने हो भने खोप आउन गाह्रो हुन्छ,’ ती अधिकारीले भने । चीनबाट हालै स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले घोषणा गरेको ५० लाख चिनियाँ युयान मूल्यबराबर पर्ने ३५ सय थान अक्सिजन सिलिन्डर र १० वटा भेन्टिलेटर मेसिन भने आउने क्रममा छ ।

स्वास्थ्य मन्त्रालयले भने खोप खरिदका लागि पहल नगरेको कुरा ‘हावादारी गफ’ भएको प्रतिक्रिया दिएको छ । ‘अहिले हामीले दोस्रो डोजको खोप भारतमा निर्मित कोभिसिल्ड नै लगाउनुपर्ने अवस्था छ । तर, निर्माण कम्पनी सेरमले दिन आनाकानी गरिरहेको छ । यसका लागि स्वास्थ्य मन्त्रालयबाट मात्रै सम्भव नभएकाले कूटनीतिक पहल भइरहेको छ । त्यसपछि पनि खोप खरिद गरेर ल्याउने हो, जुन सहज हुन्छ त्यही ल्याउन सकिन्छ,’ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘तर, अहिले कुनै पनि खोप खरिद गर्ने कुरा अगाडि बढेको छैन । चीनको खोप खरिद गर्ने कुरा भएकै छैन । यसमा स्वास्थ्य मन्त्रालयले पहल गरेन, चासो देखाएन भनेका छन् ती सबै हावादारी गफ हुन् । हामीसँग आएका फायल एक मिनेट पनि रोक्ने पक्षमा छैनौँ ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *