जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आइतबार बिहान जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका हुन् ।

उनीहरुले आफूहरुले विश्वासको मत नदिने र तटस्थ बस्ने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । नेता महतोले आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराएको बताए ।

जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेको छ । ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का भएको छ ।

एमालेकै माधव नेपाल पक्षले पनि सामूहिक राजीनामा दिने तयारी गरेको छ । त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् । यसअघि बिहान पहिला ठाकुर र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानलिकण्ठ पुगेका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार संसदको विशेष अधिवेशन बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *