सुरुङ मार्गमा ६ सय जनशक्ति परिचालन, जापानबाट आयो ४ अर्बको उपकरण

काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सुरुङ निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । सुरुङमार्गको पूर्वतर्फ (काठमाडौँ)बाट र पश्चिमतर्फ (धादिङ)बाट सुरुङ खन्ने काम निरन्तर जारी छ ।

आयोजना स्थलमा दैनिक तीन सिफ्टमा छ सय जना जनशक्ति कार्यरत छन् । जग्गा अधिग्रहण, मुआब्जा वितरण, स्थानीयको अवरोध, भारतबाट विस्फोटक पदार्थ ल्याउनमा भएको ढिलाइलगायतका समस्यालाई समाधान गर्दै बिनाअवरोध सुरुङ निर्माण कार्य अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका वरिष्ठ इन्जिनियर अच्युत भट्टले सुरुङ खन्नेलगायत सम्पूर्ण निर्माण कार्यले तीव्रता पाएको बताउँदै भने, “सुरुङ खन्नु, पहुँच बाटोहरूको निर्माण गर्नु, कल्भर्टलगायतका संरचनाको निर्माण गर्नुबाहेकको अन्य कुनै काम अब बाँकी छैन ।”

उनले मुख्य सुरुङमार्गको ११४ मिटर र सहायक सुरुङमार्गको २२९.५ मिटर खन्ने काम सम्पन्न भइसकेको जानकारी दिए । मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर र सहायक सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।

उनका अनुसार काठमाडौँतर्फ मुख्य सुरुङमार्गको ४९ मिटर र सहायक सुरुङमार्गको १५७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । त्यसैगरी धादिङतर्फ मुख्य सुरुङमार्गको ६५ मिटर र सहायक सुरुङमार्गको ७२.५ मिटर खन्ने काम सम्पन्न भइसकेको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सुरुङ खन्ने कामले गति लिँदा अब आयोजना सरासर अगाडि बढ्ने विश्वास व्यक्त गरे । सुरुङको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने बताउँदै उनले अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी प्रस्तावित सुरुङको प्वाल खोलिसकिने जानकारी दिए । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम प्रविधि प्रयोग गरिएकाे छ ।

सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने उपकरण नागढुङ्गास्थित आयोजना स्थलसम्म आइपुगेको छ । उनका अनुसार जम्बो ड्रिलर, एक्साभेटर, कङ्क्रिट गर्ने प्रेसर मेसिन, ह्विल लोडर, टनेल लाइनिङ गर्ने मेसिनलगायतका करिब चार अर्ब रुपियाँ बराबरका उपकरण जापानबाट नेपाल ल्याइएको हो ।

सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१८ मा तयार पारिएको थियो । सन् २०१६ मा जाइकासँग १६ अर्ब ६३ करोड रुपियाँको ऋण सम्झौता भएको समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *